सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लघुवित्त संस्थाहरूको नाफामा २२ प्रतिशतले गिरावट

गत आर्थिक वर्षमा लघुवित्त संस्थाहरूको नाफामा २२ प्रतिशतले गिरावट आएको छ । कोभिड–१९ महामारीका साथै ब्याजदर कम गर्न तथा तिरेको ब्याजमा छुट प्रदान गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा दिएको छुटका कारण लघुवित्त संस्थाहरूको नाफा प्रभावित भएको हो ।
राष्ट्र बैंकका अनुसार, २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्ब १९ करोड अर्थात् २२.२७ प्रतिशतले घटेर चार अर्ब ८१ करोडमा झरेको छ । २०७७ असार मसान्तमा ब्याज आम्दानी ४० अर्ब ७४ करोड, ब्याज खर्च २१ अर्ब ५२ करोड र सञ्चालन आम्दानी २३ अर्ब ४४ करोड रहेको छ । गत आवमा सञ्चालनमा रहेका ८४ वटा संस्थामध्ये १३ वटा संस्था खुद नोक्सानमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कोभिड–१९ को कारण संस्थाको कारोबारमा पनि असर पारेको छ । २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा सापट गत आर्थिक वर्षको तुलनामा ११.७२ प्रतिशतले वृद्धि भई २ खर्ब ६२ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०३.६३ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ ।
२०७७ असारसम्ममा लघुवित्त संस्थाहरूको कुल कर्जा तथा सापटमा निष्कृय कर्जाको अनुपात २.०२ प्रतिशत रहेको छ । निष्कृय कर्जाको अनुपात २०७६ असार मसान्तमा १.११ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले लिएको मर्जर नीतिका कारण लघुवित्त वित्तीय संस्थाहरूको संख्या पनि घट्दै गएको छ । २०७६ असारमा कुल ९० वटा संस्थाहरु सञ्चालनमा रहेकोमा २०७७ सम्ममा ६ वटा लघुवित्त वित्तीय संस्था घट्न गई ८४ वटामा झरेको छ । संस्थाको संख्या घटे पनि वित्तीय पहुँच भने बढेको छ । गत आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाहरूको शाखा संख्या तीन हजार ५४७ रहेकोमा २०७७ असार मसान्तमा ११.२५ प्रतिशतले वृद्धि भई कुल शाखा संख्या तीन हजार ९४६ पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको वार्षिक निरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
लघुवित्त वित्तीय संस्थाहरूको शाखागत रूपमा अध्ययन गर्दा लुम्बिनी प्रदेशमा ९१३ (२३.१४ प्रतिशत), प्रदेश नं. २ मा ७८० (१९.७७ प्रतिशत), प्रदेश नं. १ मा ६७४ (१७.०८ प्रतिशत), बागमती प्रदेशमा ५६७ (१४.३७ प्रतिशत), गण्डकी प्रदेशमा ५०० (१२.६७ प्रतिशत), सुदूरपश्चिम प्रदेशमा ३४० (८.६२ प्रतिशत) र कर्णाली प्रदेशमा १७२ (४.३६ प्रतिशत) कार्यालय रहेको देखिन्छ ।
२०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या तीन हजार ९४६ रहेको र उक्त शाखा कार्यालयमार्फत कुल सदस्य संख्या ४६ लाख ८६ हजार ६ सय ९ सदस्य रहेकाले औसतमा लघुवित्त वित्तीय संस्थाको एउटा शाखाले औसत १,१८८ सदस्यलाई सेवा दिइरहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आवमा केन्द्रीय बैंकले ३१ वटा लघुवित्त संस्थाको स्थलगत निरीक्षण गरेको छ । उक्त निरीक्षणका क्रममा न्यूनतम पुँजीकोष पु¥याउन नसक्ने ६ वटा संस्थालाई समय थप गर्नुका साथै अनिवार्य नगद मौजाद कायम नगरेका ११ वटा संस्थालाई जरिवानासमेत गरेको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »