सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेसबुकमा रोजगारको विज्ञापन गर्दै ठगी गर्ने पक्राउ

१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ आकर्षक जागिर मिलाइदिने भन्दै फेसबुकमा राखेको विज्ञापन हो यो।

फेसबुकमा सोही विज्ञापनलाई पत्याउँदै पोखरा-२७ मा रहेको पीजीएस एग्रो एन्ड मल्टिपर्पोज प्राइभेट लिमिटेड नामक जब सेन्टरमा जागिरको आवश्यकता भएका पुग्थे। जब सेन्टरमा पुगेकाले जागिरको लागि फर्म भर्नुपर्ने। फर्म शुल्क २ हजार ५ सय रुपैयाँ। जागिरको मौखिक ग्यारेन्टी मात्र।

स्याङ्जा फेदीखोला ४ स्थाई ठेगाना भएका २१ वर्षीय कृष्णप्रसाद पौडेल यसरी नै ठग्थे। पौडेलले यसरी नै करीब ४ हजार ५ सय जनालाई ठगेको पीडितहरुको आरोप छ। जाहेरीको आधारमा आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनले फेसबुकमै राखेको विज्ञापनले विभिन्न जिल्लाका युवाहरुलाई ठगेको पीडितहरुले बताएका छन्।

सुरुवातमा २ हजार ५ सय तिरेर फाराम भर्ने अन्तर्वार्ता लिइने र पछि कल आउने जानकारी ठगिएका युवाहरूलाई पौडेलले बताएका थिए। उनले अन्तर्वार्ता भनेर कसैलाई फेल गराउने, पास भएकालाई पनि जागिर नलगाउने गरेका थिए।

पौडेलले फेल भएकालाई अर्को पदमा जागिर लगाउने बताउँदै पुन: फाराम भर्न समेत लगाउथे। पौडेलको उक्त व्यवहार पछि युवाहरू इलाका प्रहरी कार्यालय शिशुवामा जाहेरी दिन गएका थिए। युवाहरू नै त्यसरी ठगिएको भन्दै जाहेरी दिन गएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सय बढी पीडित युवाहरूले शुक्रवार प्रहरी कार्यालय कास्कीमा धर्ना दिन पुगेपनि आइतवारमात्र जाहेरी परेको हो। आइतवार पनि पीडितहरु प्रहरी कार्यालय पुगेका थिए।

पीडितहरुको आरोप अनुसार पौडेलले जनही २ हजार ५ सयको दरले एक करोड १२ लाख ५० हजार ठगी गरेको देखिन्छ। तर, पौडेलले भने आफुले १७ लाख उठाएको स्वीकार गरेका छन्।

कास्की प्रहरी प्रवक्ता सुवास हमालका अनुसार पौडेललाई आपराधिक लाभ, विश्वासघात सम्बन्धि मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया बढाइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »