सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनका कांग्रेससँग प्रचण्डको गुनासो

संसद्को आउँदो चुनावमा चितवनबाटै प्रतिस्पर्धा गर्ने बताएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनकै सहयात्री दल कांग्रेसको जिल्ला नेतृत्वप्रति चित्त दुखाइ गरेका छन् ।

दाहाल २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर चितवन–३ बाट विजयी भएका हुन् । त्यसअघि भएको स्थानीय निर्वाचनमा उनकै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँगको तालमेलमा छोरी रेणु दाहाल विजयी भएकी थिइन् । अहिलेको सत्तारूढ गठबन्धन चुनावसम्मै कायम रहने दाहालको भनाइ छ । तर, चितवन कांग्रेसको नेतृत्वले यो विषयमा फरक मत राखेको छ ।
केही दिनअघि भएको एक कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पुष्पकमल दाहाल र रेणु दाहालप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । जिल्लाका अन्य कांग्रेस नेताहरूले पनि आउँदो निर्वाचनमा चितवनमा कांग्रेसका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाताले रूखबाहेकका चिह्नमा मत हाल्नुपर्ने अवस्था आउन नदिने बताउने गरेका छन् । कांग्रेसका नेताहरूबाट चितवनमा व्यक्त हुन थालेको यो अभिव्यक्ति उचित नभएको दाहालले बताए । ‘मैले त सोच्थें कमसेकम चितवनका नेता–कार्यकर्ताहरू खुसी भए होलान्, उनीहरूले मलाई, माओवादीलाई धन्यवाद भन्लान्, अब हामी राम्रैसँग मिलेर जान्छम् भन्लान् भन्ने ठानेको त प्रचण्डलाई, रेणुलाई खेद्नुपर्छ भनेर यहाँका सभापतिहरूले बोले,’ उनले भने ।

केपी ओली प्रवृत्ति अन्त्य गरी संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न गठबन्धन बनेको उनले बताए । चितवन कांग्रेस नेतृत्वले आफ्नो वर्ग स्वार्थअनुरूप बोलेको र यो लडाइँ पनि आफूले हेर्ने दाहालले बताए । आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र हुने उनको भनाइ थियो । भरतपुरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा दाहालले भने, ‘चुनाव आउँदै छ र यो चुनाव आउँछ, जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदै छ । महाभारत हुँदै छ ।’ कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उनले अपिल पनि गरे ।

राष्ट्रिय महाधिवेशन चितवनमा सारेर केपी ओलीले आफूलाई प्रहार गर्न खोजेको उनले बताए । ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ, चुनाव लड्न बर्दिया जान्छ कि कालीकोट जान्छ भनेर काठमाडौंमा भनियो । म चितवन छोड्दिनँ, म भाग्ने मान्छे हुँदै होइन,’ उनले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »