सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुख्यमन्त्री राजेन्द्र पाण्डेकाे चासाेः१० वर्षसम्म पुल किन निर्माण हुन सकेन ?

हेटौंडा । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने गरी बागमती नदीको पुल १० वर्षसम्म नबनेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले चासो देखाएका छन् ।

२०६८ असार २९ गते ठेक्का सम्झौता भएको पुल निर्माण कम्पनीले १० बर्ष ६ महिना बित्दा पनि पूरा गर्न सकेको छैन । मुख्यमन्त्री पाण्डेले मंगलबार ठेकेदार र मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयबीच संवाद गराएका छन् ।

स्थानीय बासिन्दामाझ ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाका सञ्चालक जयराम लामिछाने र आयोजनाका प्रमुख राजेन्द्र दासलाइ राखेर मुख्यमन्त्री पाण्डेले कहिलेसम्म पुल निर्माण पूरा हुन्छ भनी प्रतिवद्धता जनाउन लगाएका थिए । ठेकेदार कम्पनीलाई परेको समस्या र आयोजनाको असहज परिस्थिति केही भए त्यसमा सहजीकरण गर्न आफू तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

दश बर्षपछि भएपनि पुल निर्माण पूरा हुन लागेको भन्दै मुख्यमन्त्ती पाण्डेले बाँकी काम चाँडै सक्न निर्देशन दिए । पुलले मकवानपुरको बागमती र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकालाई जोड्छ ।

निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवा प्रालिका सञ्चालक जयराम लामिछानेले आउँदो वैशाख १५ गतेसम्म पुल निर्माण सक्ने बताए । चैत मसान्तसम्म ठेक्काको सम्झौता अवधि रहेकाले त्यो बेलासम्म पुलका लागि आवश्यक सबै काम सक्ने प्रतिबद्धता व्यक्त गरे ।

पुलको भौतिक प्रगति ९० र वित्तीय प्रगति ७८।६९ प्रतिशत भएको आयोजनाले जनाएको छ । मूल्य अभिवृद्धि करसहित २३ करोड ५३ लाख ९ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले अहिलेसम्म १८ करोड, ५१ लाख ६३ हजार रुपैयाँ भुक्तानी लिएको बताइएको छ ।

चार सय मिटर लम्बाइ, ६ दशमलब ५० मिटर चौडाइको पुल निर्माण सम्झौता पछि काम नभएपछि आयोजनाले १० प्रतिशत क्षतिपूर्ति बापत २ करोड १० लाख ४० हजार रुपैयाँ असुल गरेको थियो । सरकारले बहुबर्षीय योजनाको रुपमा काम गरेको मदन भण्डारी मार्गको सडक र पुल तर्फको समग्र प्रगति ९० प्रतिशत नाघेको पुगेको छ ।

आर्थिक बर्ष २०६४र०६५ मा शुरु भएको राजमार्गले मकवानपुरसम्म आउँदा भित्री मधेसका चार जिल्ला मकवानपुर–सिन्धुली–उदयपुर र सुनसरीका करिब ३५ लाख जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने छ ।

११ मिटरको सडक ७ मिटर पिच गर्ने योजनासहित काम भइरहेको छ । राजमार्गको पुलतर्फको काम ३ सय ५० करोड र सडकतर्फ ६ सय १० करोडमा ठेक्का सम्झौता भएको बताइएको छ ।

अनलाइन खबरबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »