सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको मेयरमा दर्जनबढी स्थानीय नेताको दावी

नेपालगञ्ज, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्ज उपमहानगरको मेयर पदका लागि दर्जन बढी नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । सो पदको लागि टिकट पाउन उहाँहरुको दौडधुप बढेको छ।
उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा मुख्य दलहरुबाट उम्मेदवार बन्न चाहनेहरुले शक्तिकेन्द्रहरु धाउन थालेका छन् । स्थानीय नेता कार्यकर्तासँगको भेटघाटलाई पनि उहाँहरूले बाक्लो बनाउनुभएको छ ।


सत्ता गठबन्धन दलहरुबीच गठबन्धन हुने सम्भावनाबीच दर्जन बढी नेताहरु नेपालगञ्जको मेयर बन्ने दौडमा सक्रिय देखिन्छन् । जनता समाजवादी पार्टीबाट कमरुद्दीन राई, नेकपा एमालेबाट पशुपति दयाल मिश्र र नेकपा एकिकृत समाजवादीबाट शमसुद्दिन सिद्दिकीको उम्मेदवारी निश्चित प्रायः भैसकेकाले उहाँहरु प्रचार प्रसारमा जुटिसक्नुभएको छ ।


राई, मिश्र र सिद्दिकीले वडा वडामा गएर संगठन निर्माणसँगै जनतासँग पनि सम्पर्क बढाउन थालेका छन् । जसपाका राईले गएको निर्वाचनमा पनि राम्रो मत ल्याएर पराजित भएकाले उहाँले सो समयबाटै यो निर्वाचनको तयारी शुरु गरेर जनताको काम गर्दै आउनुभएको छ ।
मिश्र मेयरमा टिकट पाउने शर्तका साथ एमालेमा केही महिना पहिले मात्र प्रवेश गरेकाले पहिलेदेखि नै दावेदार रहेका नेता कार्यकर्ताहरु भित्रभित्रै असन्तुष्ट देखिएका छन् । यसले उहाँलाई क्षति पुग्ने अनुमान गरिएको छ ।

उम्मेदवार छनोटमा नेकपा माओवादी र नेपाली काँग्रेसमा तीनजना भन्दा बढी दावेदार देखिएपछि आन्तरिक गृहकार्यमा दुवै दल लागेका छन् ।
नेपाली काँग्रेसमा गत निर्वाचनमा मेयर पदमा पराजित डा सुरेश कुमार कनोडिया, वर्तमान उपमेयर उमा थापामगर, काँग्रेसको नगर सभापति प्रशान्त विष्ट, व्यवसायी नेता अच्युत प्रसाईं र ललित रौनियार टिकटका प्रवल दावेदार हुनुहुन्छ । यी बाहेक महासमिति सदस्यहरु निरन्जनसिंह सिजापति र राजकुमार बर्मा पनि आकांक्षी हुनुहुन्छ । काँग्रेसबाट कनोडियाको सम्भावना सबैभन्दा बढी देखिएको छ । टिकटको टुंगो नलाग्दै उहाँले प्रचार प्रसार तीव्र पारिसक्नु भएको छ ।
नेकपा माओवादी केन्द्रबाट व्यापारिक पृष्ठभूमिका नेताहरु नन्दलाल वैश्य र आदेश अग्रवाल तथा जनयुद्धमा संघर्ष गरेका नवीन शर्माको दावेदारी बलियो छ । स्वर्गिय दामोदर आचार्यकी श्रीमति पार्वता आचार्यलाई पनि पार्टीले मेयरको सम्भावित उम्मेदवारको रुपमा लिएको केही नेता कार्यकर्ताको भनाई छ । तर वैश्यले टिकट पाउने सम्भावना बढी देखिएको बताइएको छ । उनको मधेशी समुदायमा बलियो पकड छ ।
राप्रपाबाट हाल वडा नम्बर ४ का वडा अध्यक्ष मो सफिक बेहना, गौरव चन्द लगायतले मेयरमा दाबी गरेका छन् भने राप्रपा नेपालबाट अभयकुमार बस्नेतको सम्भावना बढी छ । शिवसेना नेपालबाट होटल व्यवसायी दीवाकर शर्माले उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि मुख्य प्रतिष्पर्धा जनता समाजवादी पार्टी र नेपाली काँग्रेसका उम्मेदवारबीच नै हुने आकंलन अधिकांशको छ । जसपा प्रमुख प्रतिष्पर्धामा रहनुको कारण नेपालगञ्ज नगर समेटिएको बाँके क्षेत्र नम्बर २ का संघीय सांसद र पुर्वमन्त्री ईश्तियाक राईको लोकप्रियता र विकासप्रतिको समर्पण रहेको जनाईएको छ । पुर्वमन्त्री राईको कारणले गर्दा कमरुद्दीन राईलाई प्रमुख प्रतिष्पर्धी मानिएको छ ।
तर, नेकपा माओवादी र एमालेले पनि आफू सबैभन्दा अगाडि रहेको दावी गरिरहेका छन् । नन्दलाल वैश्यले माओवादीको भोेट बैंकका साथै आफ्नो व्यक्तिगत भोेट समेत धेरै रहेकोले जित्ने दावी गरिरहेका छन् । सोही प्रकारको दावी एमाले प्रवेश गरेका पशुपति दयाल मिश्रको पनि छ । सोही कारणले केहीले जसपा, काँग्रेस, माओवादी र एमालेविच कडा प्रतिष्पर्धा हुने अनुमान पनि लगाएका छन् ।
जनता समाजवादी पार्टीले नेपालगञ्जलगायत चार पालिकामा गठबन्धन नगर्ने घोषणा गरिसकेको छ । यदि गठबन्धन भयो भने पनि गठबन्धनका तर्फबाट मेयरमा जसपा र काँग्रेसको मुख्य दावी रहने तथा एमालेसँग प्रतिष्पर्धा हुने देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »