सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई भोटले हारेर एक भोटले जितेका वडाध्यक्षः इन्द्र अधिकारी,

काठमाडौँ । बैशाख ३० गते स्थानीय तहको निर्वाचन धेरै ठाउँमा शान्तिपुर्ण सम्पन्न भयो भने थोरै स्थानहरुमा छिटफुट घटनाले चुनाव बिथोलियो । काभ्रेको तेमाल गाउँपालिकामा पनि ७ वटा वडामा शान्तिपूर्ण नै मतदान गर्ने कार्य सम्पन्न भयो भने एक स्थानमा हवाई फायरिङ भएको थियो । एक स्थानमा विवाद भएर करिव दुई घन्टा मतदान स्थगित भएको थियो । तेमाल गाउँपालिकामा जे जस्तो घटना घटेता पनि बैशाख ३० गते नै मतदान सम्पन्न भयो ।

तेमाल गाउँपालिकाको केन्द्र नारायस्थानमा बैशाख ३१ गते देखि मतगणना प्रक्रिया शुरु भयो । राजनीतिक दलहरुको संयन्त्रसँग तेमाल गाउँपालिकाको निर्वाचन अधिकृत विमला रेग्मी बीच भएको छलफलबाट नेपाल निर्वाचन आयोगले तोकेको नीति तथा नियममा रहेर मतगणना गर्ने सहमती गरेर वडा नं. १ बाट मतगणना शुरु गरेका थिए ।

बैशाख ३१ गते वडा नं. १ मा जम्मा १२४३ मत खसेको थियो । गठबन्धनबाट नेपाली कांग्रेसको कुलदास लामा, नेकपा (एमाले)बाट इन्द्र अधिकारी लगाएतका सम्बन्धित व्यक्तिहरुको उपस्थितिमा मतगणना शुरु भयो । रातको त्यस्तै करिब ९ बजेतिर हुनपर्दछ । मतगणना स्थलबाट नेपाली कांग्रेस वडा नं. १ का उम्मेदवार कुलदास लामा बाहिर निस्किए । भीडमा रहेका समर्थकहरुसँग केही समय कुराकानी भयो अनि मतगणना केन्द्रको चौरमा नारा जुलुस शुरु भयो । नारा जुलुसको भीडलाई थाम्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हम्मेहम्मे भयो । नेपाल आर्मीको टिम नै उतार्नु परेको थियो । अश्रु ग्याँस प्रहार गरेपछि भिड तितरबितर भएको थियो । करिब १३ घन्टा सम्म मतगणना रोकियो ।

प्रशंग रोचक छ ।

मतगणना स्थालमा नेपाली कांग्रेसको उम्मेदवार कुलदास लामा आफैँ उपस्थित थिए। अर्का उम्मेदवार इन्द्र अधिकारी जित्ला कि भन्ने आशाले भोट नियाल्दै बसिरहेका थिए । एक्कासि नेपाली कांग्रेसका उम्मेदवार कुलदास लामा सबै तर्सिने गरी जंगियो । “यो मतगणना तुरुन्त रोक्नुहोस् । मलाई चित्त बुझेन । म यत्ति बेला पचास मतले हैन १०० मतले अगाडी हुनुपर्ने थियो ।” यत्ति भन्दै बाहिरिए । जुनबेला स्वयम् उम्मेदवारले इन्द्र अधिकारीलाई ५० मतले पछि पार्दै थिए ।

तेह्र घन्टापछि मतगणना शुरु

विवाद भएको करिब १३ घन्टा पछि मतगणना गर्दा दुई भोटले नेपाली कांग्रेसको उम्मेदवार कुलदास लामाको पक्षमा जित देखियो । कुलदास लामा खुशीले दंग थिए भने इन्द्र अधिकारी निन्याउरो अनुहार लिएर बसिरहेका थिए । नजिकै बसेको एकजनाले भन्यो ”मतगणना पुनः गर्न लगाउनु ”। नेकपा (एमाले) को तर्फबाट तेमाल गाउँपालिकाको उम्मेदवारी रहेका इन्द्र लामा जंगिहाले “हो यो मतगणनाफेरी हुनुपर्छ । हिजो उसले १३ घन्टा बखेडा हालेर मतगणना रोक्न मिल्ने तर अहिले दुई भोटले मात्रै मेरो उम्मेदवार हारेको छ । त्यसैले यो मतगणना पुनः हुनु पर्छ । अन्यथा हामी अदालती प्रक्रियामा जानेछौँ।”

नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति तिर्थ लामा लगाएत नेपाली कांग्रेसको जिल्लास्तरीय नेता र माओवादीको नेताहरुले इन्द्र लामाको कुरा काट्न सकेन । पुनः मत गन्ने सहमतिमा साथ दियो । वडा नं. १ को उम्मेदवार कुलदास लामा लाई दुई भोटले जितियो भनेर सामाजीक संजाल देखि सबैले बधाई दिन थाले । एक रेडियोले त अन्तरवार्ता पनि लियो । यसरी बदाई लिँदैमा कुलदास लामा व्यस्त थिए तर जेठ १ गते साँझ करिब ४ बजेतिर परिणाम उल्टो आयो । एक भोटले कुलदास लामा हारियो । नेकपा (एमालेको उम्मेदवार इन्द्र अधिकारीको विजय भयो । नारायण स्थानको प्राङ्गणनमा कुलदास लामाको समर्थन बीच रुवावासी चल्यो । यता इन्द्र अधिकारी खुशीले गदगद भएर बसेता पनि बाहिर निस्कन सकेका थिएनन् । आफ्ना समर्थकहरुसँग खुशी साँट्न पाइरहेका थिएनन् । बाहिर प्राङ्गणनमा विजय जुलुस हुनुपर्ने थियो तर विरोध जुलुस चलिरहेको थियो ।

नारा जुलुसलाई हटाउन नेपाल आर्मी, सशस्त्र सम्पूर्ण टिम उत्रिएको छ । तर पनि तेमाल गाउँपालिकका निर्वाचन अधिकृत विमला रेग्मीले इन्द्र अधिकारीले प्राप्त गरेको ५३१ मत अथवा एक मतले विजय भएको मत परिणाम सुरक्षाको समस्या देखाएर घोषणा गर्न मानेनन् । पत्रकारहरुले यसको विरोध गरेता पनि निर्वाचन अधिकृत रेग्मीले मान्नु भएन ।

दुई दिन पछि विजय जुलुस
प्रतिद्घन्द्घी कुलदास लामा सँग १ भोटले जितेता पनि नेकपा ९एमाले० को विजय उम्मेदवार इन्द्र अधिकारीले विजय जुलुस निकाल्न सकेनन् । आफन्त,आफ्ना कार्यकर्तासँग फोनमा बाहेक भेटेर खुशी साँट्न सकेनन् । बैशाख दुई गते दिउँसो मात्रै विजय जुलुसको तयारीमा जुटेका थिए इन्द्र अधिकारी ।


डर, त्रास अनि पैसाको दम्बको चटानी पहराबाट जितको परिणाम निकालेका वडा अध्यक्ष इन्द्र अधिकारी बैशाख दुई गते साँझ तिर मात्रै विजयको झन्डा हल्लाउदै वडा नं. १ तिर लागियो । यसरी ५३० र ५३१ मतले हार जितको निर्णय निकालेको तेमाल गाउँपालिका वडा नं. १ को घटनाक्रम धेरै रोचक थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »