सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

(डीआईजी) महेशविक्रम शाह भ्रष्टचारमा मुछियाे, उनी मदन पुरस्कार विजेता लेखक हुन्

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह रासन हिनामिनाको आशंकासहित छानबिनको दायरामा परेका छन् । उनी पुस २३ गते अनिवार्य अवकाश पाउँदैछन् ।

तीन नम्बर प्रदेश तालिम केन्द्र दुधौलीको समादेशक हुँदा तालिमे जवानको एक महिनाको तलब भत्ता र रासनवापतको करिब ३१ लाख रुपैयाँ हिनामिना गरेको आरोप शाहमाथि छ ।

उनले भने यो आरोप अस्वीकार गरेका छन् । २०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना आरोपपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो ।

प्रहरी उच्च स्रोतअनुसार छानबिन प्रतिवेदनमा शाह र तालिम केन्द्रका लेखापाल सई दीपेन्द्रप्रसाद पनेरुलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने सुझाव दिइएको छ ।

छानबिनको फाइल थप कारबाहीका लागि प्रहरी मुख्यालयले अख्तियारमा बुझाइसकेको स्रोतले बतायो । प्रहरी मुख्यालय अन्तर्गत प्रहरी निरीक्षणालयले छानबिनका क्रममा दुधौली तालिम केन्द्र र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट कागजात झिकाएर छानबिन गरेको थियो । अहिलेको भरतपुर शिक्षालयमा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र थियो ।

तत्कालीन समयमा भरतपुर तालिम केन्द्रलाई जुनियर प्रहरी अधिकृत शिक्षालय कायम गरी सिन्धुलीको दुधौलीमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सारिएको थियो ।

तालिम केन्द्र सर्नेबित्तिकै तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शाहले समादेशकको जिम्मेवारी पाएका थिए । उच्च स्रोतका अनुसार अन्यत्रै दरबन्दी रहेका रिक्रुट जवानको तलब र रासन भत्तावापतको करिब ३१ लाख रुपैयाँ हिनामिना भएको हो । उनी सुरक्षा परिषद्मा छन् । ‘छापामारको छोरो’ नामक पुस्तकका लेखक शाहले मदन पुरस्कारसमेत पाएका थिए ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले व्यक्तिगत उजुरीका फाइल सम्बन्धित व्यक्तिलाई नै जानकारी गराइने हुँदा यसबारे आफूले केही बताउन नमिल्ने बताए । उनले भने, ‘उजुरी धेरै आउँछन् । उजुरी परेपछि सम्बन्धित व्यक्तिमाथि छानबिन हुन्छ । सबै व्यक्तिका उजुरी मलाई जानकारी हुँदैन ।’

भ्रष्टाचारको कुरा कल्पना गर्न सक्दिनँ : डीआईजी शाह

मलाई यसबारे विषयमा थाहा छैन । मैले जवानको पैसा खाने विषय त सपनामा पनि कल्पना गर्न सक्दिनँ । छानबिन समितिले मसँग सोधपुछ गरेको छैन । ममाथि लगाएको आरोपको सत्य–तथ्य छानबिन होस् । छानबिन निम्ति म पनि सघाउँछु । मैले त कर्मचारीलाई विश्वास गर्ने हो । मेरो विश्वासमाथि कसैले अपराध गरेको रहेछ भने उसैले आपराधिक दायित्व लिनुपर्छ । तर तालिम केन्द्रको प्रमुखको हिसाबले नैतिक जिम्मेवारी मेरो पनि हो ।

भर्खरै

सम्बन्धित खबर

Language »