सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डब्लूएचओकाे चेतावनी: चार ब्रान्डका कफ सिरप नखानु

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले चार ब्रान्डका कफ सिरपले गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै यी कुनै पनि उत्पादन सेवन नगर्न विश्वव्यापी चेतावनी जारी गरेको छ । ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको र ६६ जना बालबालिकाको मृत्युसँग जोडिएको हुन सक्ने संगठनले बताएको छ ।

डब्लूएचओले प्रयोग नगर्न सुझाएका सिरपमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ छन् । यी सबै कफ सिरप भारतीय कम्पनी मैदन फर्मास्युटिकल्स लिमिटेडद्वारा हरयानामा बनेको हो । यी उत्पादनको गम्भीर असर गाम्बियामा भेटिएता पनि अरु देश र प्रान्तमा पुगेको हुन सक्ने आंकलन गरिएको छ । डब्लूएचओले यी उत्पादनले विशेषगरी बालबालिकामा गम्भीर असर र मृत्यु नै हुन सक्ने चेतावनी दिएको छ ।

पश्चिम अफ्रिकामा रहेको गाम्बिया एक पर्यटकीय गन्तव्य हो । गाम्बियाका चिकित्सा अधिकारीहरूले जुलाईको अन्त्यमा पाँच वर्ष मुनिका बालबालिकाहरूमा तीव्र रुपमा मिर्गौलामा समस्या वृद्धि भएको पत्ता लगाएपछि यसबारे सोधिखोजी भएको हो । गाम्बियाको सरकारले हाल सबै सिरपको प्रयोगलाई प्रतिबन्ध गरेको छ । यसको सट्टा ट्याब्लेट प्रयोग गर्न आग्रह गरेको छ । गाम्बियाका स्वास्थ्य सेवा निर्देशक मुस्ताफा बिट्टेले सिरपमा प्रतिबन्ध लगाएपछि मृत्युको संख्या घटेको, तर पछिल्ला दुई हप्तामा भने दुई जनाको मृत्यु भएको बताए । उनले गाम्बियामा हाल औषधि सुरक्षित छ कि छैन भनेर परीक्षण गर्न सक्ने प्रयोगशाला नभएकाले जाँचका लागि विदेश पठाउनुपरेको बताए । उनले भने–‘गाम्बियाले विश्व बैंकसँग गुणस्तर प्रयोगशालाको लागि अनुदान प्राप्त गर्न छलफल गरिरहेको छ।’

डब्लूएचओले यी चारवटै सिरपको नमुना परीक्षण गर्दा भारी मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा पाइएको थियो । डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल मानवका लागि विषाक्त हुन्छन् । यसले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन हुने र मिर्गौलामा गम्भीर असर पर्न गई मृत्यु हुन सक्छ ।

डब्लूएचओका प्रमुख डा। टेड्रोस गेब्रेयसले ती कलिला बालबालिकाको मृत्यु उनीहरुका परिवारको लागि हृदयविदारक रहेको बताए । उनले भने ‘यी उत्पादनहरू हाल गाम्बियामा मात्र देखिए पनि अरु देशले यी उत्पादनको निगरानी र अनुगमन बढाउन आवश्यक छ।’ कफ सिरपका कारण मृत्यु भएका बालबालिकाका अभिभावकले गाम्बियामा न्यायको माग गरिरहेका छन् । भारतीय सरकारले यसको उत्पादनबारे छानबिन गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले अरु बिरामीलाई हानी हुनबाट रोक्न यसको बिक्रीवितरणमा रोक लगाउन आवश्यक रहेको बताएको छ । यी उत्पादनहरूका सबै ब्याचहरू राष्ट्रिय नियामक निकायहरुले विश्लेषण नगरेसम्म असुरक्षित मानिएको छ ।

२० महिने छोरा गुमाएकी मिस कुयातेह भन्छिन्–‘६६ ठूलो संख्या हो । हामीलाई न्याय चाहिन्छ । ती सबै बच्चाहरु निर्दोष थिए।’ अर्का अभिभावक एलियु किजेरा देशको स्वास्थ्य प्रणालीबाट रुष्ट छन् । उनले गाम्बियामा बच्चाको उपचार नभएपछि छिमेकी राष्ट्र सेनेगल पनि लगे । त्यहाँ बच्चाको स्वास्थ्य अवस्थामा केही सुधार देखिएपनि उनी बाँचेनन् । ‘यदि देशमै राम्रो औषधि र उपकरण भएको भए मेरो छोरा र अरु कयौं बालबालिकाको जीवन जोगिन्थ्यो होला,’ उनले भने।

भर्खरै

सम्बन्धित खबर

Language »