सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युरोप कोरोनाभाइरसको संक्रमण केन्द्र

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ । इटालीमा एकै दिन ३६८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या १ हजार ८०९ पुग्यो, स्पेनमा थप ९८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या २८८ पुगेको छ भने फ्रान्समा २९ जनाले ज्यान गुमाउँदा कूल सङ्ख्या १२० पुगेको छ । बेलायतमा पनि एकै दिन सबैभन्दा बढी १४ जनाले ज्यान गुमाउँदा त्यहाँ पनि मर्नेको सङ्ख्या ३५ पुगेको छ ।

युरोपमा कारोनाभाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँका सरकारले नागरिकहरुको यात्रालाई सिमित गर्न थालेका छन् भने सीमाहरुमा कडाइ गर्न थालेका छन् । जर्मनीले फ्रान्स, स्वीटजरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लक्जम्बर्गसँगको सीमामा चेकजाँच कडाइ गर्ने भएको छ भने पोर्चुगलले पनि स्पेनसँगको सीमामा त्यस्तै उपाय अपनाउने भएको छ ।

चेक सरकारले पनि देशमा लकडाउन गरेको छ । जसमा नागरिकलाई काम गर्न जान, खानेकुरा किन्न वा औषधी किन्न जान र परिवारलाई आपत्तकालिनरुपमा भेट्न जान दिने बाहेक अन्य स्वतन्त्र यात्रामा प्रतिबन्ध गरेको छ ।

अस्ट्रियामा सोमबारबाट ५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ भने रिपब्लिक अफ आयरल्याण्डले पबहरुलाई २९ मार्चसम्म बन्द गर्न आग्रह गरेको छ । युरोपका धेरै देशहरुमा विद्यालयहरु बन्द गरिएका छन् ।

चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरसको महामरीको केन्द्रविन्दु अब युरोप बनेको विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ ।

पछिल्लो २४ घण्टामा स्वीटजरल्याण्डमा ८ सय नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमितको सङ्ख्या २२ सय पुगेको छ । सबैभन्दा बढी प्रभावित बनेको इटालीमा २४ हजार ७४७ जना संक्रमित बनेका छन् । त्यहाँ ज्यान गुमाएका मध्ये १ हजार २१८ जना मिलानको व्यावसायिक केन्द्र लोम्बार्डीका रहेका छन् । स्पेनमा ७ हजार ५५३ संक्रमित भेटिएका छन् भने फ्रान्समा संक्रमितको सङ्ख्या ५ हजार ४०० पुगेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाभाइरसबाट १ लाख ६२ हजार ६८७ जना संक्रमित भएका छन् । जसमध्ये ८१ हजार ३ जना चीनका रहेका छन् । विश्वभरबाट ६ हजार ६५ जनाले ज्यान गुमाइसकेका छन् जसमा ३ हजार ८५ जना चीनका रहेका छन् ।

उता, अमेरिकामा यसबाट मर्नेको सङ्ख्या ६२ पुगेको छ भने ३ हजार २४४ जना संक्रमित भएका छन् ।

स्रोत : बीबीसी

भर्खरै

सम्बन्धित खबर

Language »