सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रवि लामिछानेको अभिव्यक्ति प्रति पत्रकार महासंघ र प्रेस युनियनको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज गरेको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति प्रति पत्रकार महासंघ र प्रेस युनियनले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् ।
प्रेस विज्ञप्तिको पुर्ण विवरण यस्तो
नेपाल प्रेस युनियनको विज्ञप्ति
संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमी कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली पत्रकारिता क्षेत्रले पञ्चायतकाल, २०४६, २०६२र६३ को राजनीतिक परिवर्तन गर्न ठूलो जोखिम मोलेर मुलुकको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका सबैलाई अवगत छ । मिडियाले मुलुकमा भएका ठूला(ठूला भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् । पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बदनाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युनियनको छ लामिछाने जो आफैं सञ्चारकर्मबाट जनताका मुद्दा उठाएर परिचित भएपछि मात्र यो स्थानमा पुगेका हुन् । सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुस्मनको जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय छ। एउटा परिपक्व राजनीतिकर्मीबाट यस्तो धम्कीपूर्ण भाषा प्रयोग हुने कल्पना समेत गर्न सकिँदैन । प्रमाणहीन आरोप लगाएर नेपाली सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठाउने काम नगर्न युनियन आग्रह गर्दछ । सञ्चार माध्यमले प्रकाशन गरेका सामग्रीको बारेमा चित्त नबुझे कानुनी उपचारमा जान सक्ने विकल्प हुँदाहुँदै सञ्चारमाध्यमकै मानमर्दन गर्नु निन्दनीय छ। नेपाली राजनीति र समाजका अन्य सबै क्षेत्रमा कमजोरीहरू छन्, त्यसमा सञ्चारमाध्यम पनि अछुतो नहोला । पत्रकारिताका कमी, कमजोरीलाई विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने मान्यता युनियनले राख्छ । मुलुकको नेतृत्व लिएर सुधार गर्ने प्रतिवद्धतासहित आएका राजनीतिकर्मी र सञ्चारमाध्यमलाई दोषारोपण गरेर आफू चोखिन खोज्नु साह्रै दुःखद पक्ष हो । लामिछानेको नागरिकताको विषयमा सञ्चारमाध्यमले जनतासम्म सूचना पुयाएकोमा आक्रोश पोखेको देखिन्छ । अदालतको फैसला अनुसार उनले गैरकानुनी रूपमा राखेको नागरिकता मात्रै नभएर समाजमा विद्यमान अन्य बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा नेपाली प्रेस अझै दृढ रूपमा प्रस्तुत हुने अठोटसमेत व्यक्त गर्दछौं । प्रेस युनियन विधिको शासन, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारितामाथि विश्वास राख्दछ । अपरिपक्व, गैरजिम्मेवार अभिव्यक्ति नदिन, जवाफदेही राजनीतिकर्मीको रूपमा आफ्ना विचार राख्न, पत्रकारिता क्षेत्रलाई सम्मान गर्न नेपाल प्रेस युनियन आग्रह गर्दछ ।
दिलिप पौडेल
महासचिव
नेपाल पत्रकार महासंघको विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार हो । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकमी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन । सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्दछ । साथै आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्वन्धित पक्षसँग महासंघ जोडदार माग गर्दछ ।
रोशन पुरी
महासचिव

भर्खरै

सम्बन्धित खबर

Language »