सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकीको कालेपत्रे सडक निर्माण काम अलपत्र


नेपालगञ्ज , बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ मा गाउँपालिकास्तरीय कार्यक्रम अन्तर्गत सञ्चालित बढैयादेखि जोगागाउँसम्मको कालेपत्रे सडक निर्माणको काम अलपत्र बनेको छ । निर्माण व्यवसायी कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम अलपत्र बनेको गाउँपालिकाले जनाएको छ ।

एमाले सरकारको पालामा सुरु भएको उक्त सडक निर्माणको काममा थोरैमात्र प्रगति गरिएको स्थानीय महेश कान्दु बताउँछन् । बाटो निर्माण गर्ने भनेर घरहरु भत्काइदियो तर बाटो निर्माण त्यतिकै छोडेर गएकोले आफूहरुलाई समस्या भएको उनले बताए । पहिलेको सरकारले निर्माण सुरु गरेर अलपत्र बनेको उक्त सडक निर्माणको काम अहिलेको सरकारले जतिसक्दो चाडो सम्पन्न गरोस् भन्ने चाहन्छन स्थानीयहरु ।

उक्त सडक निर्माणको जिम्मा २०७९ असाढ २० गतेसम्मको अवधिमा सक्नेगरी के आर कन्ट्रक्सन प्रालि कोहलपुरले लिएको थियो । ६० लाख ८६ हजार ८ सय २५ रुपैयाँमा के आरले २०७८ पुस १९ गते सम्झौता गरेको थियो । अलपत्र उक्त सडक निर्माणका लागि हालसम्म के आरले पहिलो र दोस्रो किस्ता गरी १६ लाख ७६ हजार ५ सय ६५ रुपैयाँसमेत लिइसकेको गाउँपालिकाले जनाएको छ ।

ठेकेदार काम नै गर्न नआउने र सम्पर्कमा नआएकोले पटक–पटक गाउँपालिकामा आफूले जानकारी गराएको वडा अध्यक्ष मोहम्मद रजा राइले बताए । ‘जनताले गाली गरिरहेका छन् । घर भत्काईदिनु भयो अहिलेसम्म बाटो बनेन भनेर स्थानीयले गुनासो गरिरहेका छन्,’ उनले बताए ।

सम्झौता बमोजिम हाललाई गर्नुपर्ने निर्माण कार्य दुवैतर्फ ५ सय मिटर नाली निर्माण भएको फिल्ड ईन्जिनियर प्रजेश आले बताए । निर्माण व्यवसायीले समयमा निर्माण कार्य नगरेको हुनाले लिखित मौखिक ताकेता गरेको र साथै फोन सम्पर्क गर्दा पनि फोन नउठाने र सम्पर्कमा नआएको गरेको फिल्ड ईन्जिनियर आले बताउँछन् ।

सार्वजनिक खरिद ऐन अनुशार, प्रचति कानुन अनुशार ठेक्का रद्द गर्नेदेखि लिएर कारबाही प्रक्रियामा जानेसमेत फिल्ड ईन्जिनियर आले बताए । सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न नभएर पहिलोपटक २०७९ –९–३० सम्म म्यादसमेत थप गरिएको उनले जानकारी दिए ।

यता गाउँपालिका अध्यक्ष छब्बन खाँ अनुगमन र निरीक्षणमा आउँदा आफूले २०७८ को बजेट अहिलेसम्म सम्पन्न नभएको पाएको बताउँछन् । ‘सम्झौतामा नाली र सडक कालोपत्रे निर्माण गर्नु भनिएको थियो तर पटक–पटक पत्र काट्दासमेत ठेकेदार हाजिर भएका छैनन्,’ अध्यक्ष खाँले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »