सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको नगरसभामा विधेयक र प्रस्ताव पारित

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका नगरसभाको १२ औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको नगरसभाको अधिवेशनले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम संशोधन विधेयक २०७९ पारित गरेको हो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव पनि पारित भएको छ ।

????????????????????????????????????

नगरसभा सदस्य मुजम्मिल हुसैन हल्वाईले स्वास्थ्य सेवा विधेयक, नगरसभा सदस्य कौशलकुमार धोवीले सार्वजनिक निजी साझेदारी विधेयक, नगरसभा सदस्य गोपाल पुनले खानेपानी तथा स्वच्छता सम्बन्धि विधेयक र नगरसभा सदस्य विना थापाले विनियोजन विधेयकको प्रथम संशोधन नगरसभामा प्रस्तुत गर्नुभएको थियो । यसैगरी नगरसभा सदस्य पुष्पा सिंहले प्रस्तुत गर्नुभएको प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र नगरसभा सदस्य गोविन्द रेग्मीले प्रस्तुत गर्नुभएको बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव सर्वसम्मतिले पारित भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । नगरसभाले दिवंगत जनप्रतिनिधि र कर्मचारीहरुको शोक प्रस्ताब पनि पारित गरेको छ ।

नगरसभामा नगरप्रमुख प्रशान्त विष्टले हालसम्मको संक्षिप्त प्रगति विवरण र उपप्रमुख कमरुद्दिन राईले वित्तीय तथा राजश्व प्रगति विवरण प्रस्तुत गर्नुभएको प्रबक्ता प्रमोद रिजालले बताउनुभयो । नगर प्रमुख विष्टले आफ्नो प्रगति विवरण उल्लेखित बक्तब्यमा बागेश्वरी मन्दिरमा महाआरती शुभारम्भ, मोतिविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन, दादुरा प्रकोप देखिएपछि सञ्चालित खोप अभियानमा सतप्रतिशत बढी कभरेज, दीर्घरोगीहरुलाई विपद व्यवस्थापन कोषबाट रकम भुक्तानी, केही वडाहरुमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण, सबै वडामा इन्टरनेटको पहँुच, नगरका मुख्य स्थानमा फ्रि(वाइफाई जोन, अनलाइन सिफारिस प्रणाली, मुलुकमै दोस्रो स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र स्थापना गरी कार्यान्वयन गरेको विषयलाई समेट्नुभएको छ ।

यस्तै उहाँले प्रगति विवरणमा नगरमा पुराना डिप बोरिंगहरुको मर्मत कार्य सञ्चालन, जग्गा नापजाँच कार्यका लागि आवश्यक नियन्त्रण विन्दु स्थापना, मदरसा बोर्ड गठन, उपमहानगरको कृषि र गैरकृषि क्षेत्र निर्धारण, मंगलप्रसाद कन्या कलेजमा हाल स्नातक तर्फका केही विषयहरुमा अध्यापन सुरुवात, सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति पदपूर्ति, अपांगता परिचयपत्र वितरणसहित सचेतनामूलक कार्यक्रम सञ्चालन, न्यायिक समितिमा चालू आर्थिक बर्षमा परेका १७ उजुरी मध्ये २ वटा निर्णय भई बाँकी प्रक्रियामा रहेको विषयहरु उल्लेख गर्नुभएको छ । नगर प्रमुख विष्टले चाडपर्वको लामो विदा, संघ र प्रदेशको चुनाव लगायतका कारणले सुरुवाती दिनमा लय पकड्न गाह्रो भएपनि अब उपमहानगर आफ्नो शैली र गतिमा अघि बढ्ने बताउनुभयो ।

नगर उपप्रमुख राईले वित्तीय प्रगति विवरण प्रस्तुत गर्दै चालू आर्थिक बर्षको पौष मसान्तसम्म २५.१० प्रतिशत रकम खर्च भएको जानकारी दिनुभयो । राईले चालूतर्फ ३४.६८, पूँजीगततर्फ ९.४४ र वित्तीय व्यवस्थातर्फ ३९.३४ प्रतिशत रकम खर्च भएको बताउनुभयो । उहाँले आर्थिक बर्ष २०७९÷८० को ११औं नगरसभाबाट स्वीकृत कुल बजेट मध्ये विभिन्न बजेट शिर्षकमा पौष मसान्तसम्म रु.१ करोड २ लाख ११ हजार बढी प्राप्त भएको तथा अनुमान भन्दा बढी निकासा प्राप्त भएको भन्दै जम्मा १ अर्ब ९८ करोड ४२ लाख ५४ हजार रुपैयाँ स्वीकृतिका लागि नगरसभामा पेश गर्नुभएको थियो । प्रस्तावित अनुमानित आय मध्ये पौष मसान्तसम्म रु.१ अर्ब ९ करोड ६७ लाख ८५ हजार गरी करिब ५५ प्रतिशत आम्दानी प्राप्त भएको बताइएको छ । यस्तै आन्तरिक आयमा करिब ५८ प्रतिशत प्रगति भएको छ । उपप्रमुख राईले करदाताहरुको सहज पहुँचका लागि सम्पत्तिकर वडा कार्यालयबाटै अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको बताउँदै व्यवसाय र घरबहाल कर समेत वडामै बुझाउन सकिने गरी व्यवस्था गर्न प्रयासरत रहेको जानकारी गराउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »