सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा वडा नम्बर ३ बाट हात्तीपाइले औषधि सेवन अभियान सुरु

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुभारम्भ गरेको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम सुभारम्भ गरिएको हो ।

‘हात्तीपाइले विरुद्धको औषधि खाऔंः यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो । अभियान सुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उप – महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, नेपालगञ्ज उप – महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।बद्री चापागाईं, नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा।रोमन किदवाई, डा।रोमा बोरा लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले औषधि सेवन गरेर अभियानको सुभारम्भ गर्नुभएको थियो ।

औषधि सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य अग्रवालले हात्तीपाइले रोग लागिसकेपछि निको नहुने भन्दै यसबाट जोगिन औषधि सेवन गर्नुको विकल्प नरहेको बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख चौधरीले आफ्नो स्वास्थ्यको लागि दायाँबायाँ नसोचेर निर्धक्कका साथ औषध सेवन गर्न आग्रह गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले अफबाह र हल्लाका पछि नलागेर ढुक्क भएर औषधि सेवन गर्न नेपालगञ्जबासीलाई आग्रह गर्नुभयो । उहाँले आफ्ना बालबालिकालाई दादुरा खोप नलगाउँदा भोगेको दुःख र पीडा सम्झँदै हात्तीपाइलेको औषधि सेवन गर्न आग्रह गर्नुभयो । नगर प्रमुख विष्टले औषधि खाए नखाएको एकिन विवरण राख्न स्वास्थ्य महाशाखालाई निर्देशन समेत दिनुभयो ।

नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा। किदवाईले औषधिको कुनै साइड इफेक्ट नरहेको प्रष्ट पार्दै हात्तीपाइेले रोगबाट बच्न ढुक्क भएर औषधि सेवन गर्न आग्रह गर्नुभयो । नेपालगञ्जमा सबैभन्दा कम कभरेज भएको वडा नम्बर ३ बाट अभियान थालिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । चन्दका अनुसार मुस्लिम समुदायको बसोबास रहेको वडा नम्बर ३ मा २१ प्रतिशत मात्र कभरेज रहेको छ । नेपालगञ्जमा हाल साढे चार सयको हाराहारीमा हात्तीपाइलेका रोगी रहेको चन्दले जानकारी दिनुभयो । औषधि सेवन गरेका व्यक्तिहरु पनि औषधि सेवन नगर्ने व्यक्तिहरुका कारण जोखिममा रहेको चन्दले बताउनुभयो । उहाँले पछिल्लो समय नयाँ रोगीहरु भेटिएकाले सबै गम्भीर भएर औषधि सेवन कार्यक्रमलाई सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्यकर्मीहरुका अनुसार दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन । सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन् ।

यो औषधि खाली पेटमा खानु नहुने, शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »