सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लालीपाप देखाएर एकीकृत समाजवादीलाई हरिबिजोग पार्ने केपी ओलीको षडयन्त्र फेलः माधव नेपाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको ‘ललीपप’ देखाएर एमाले अध्यक्ष केपी ओलीले आफू र आफ्नो पार्टीलाई ‘हरिबिजोग’ पार्ने षड्यन्त्र रचे पनि आफूले फेल गराएको बताएका छन् ।

‘ओलीजीले राष्ट्रपतिको नाममा चास्नी चटाउन खोजेर हामीलाई घर न घाटको बनाउने षड्यन्त्रको तानाबुना बुनेका थिए ’, ओलीकै गृह जिल्ला झापाका अगुवा कार्यकर्तालाई शुक्रबार भद्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘धेरै प्रयत्न भएको थियो । तर, सकेनन् ।’

आफूलाई राष्ट्रपति बनाउने आश्वासन दिएका ओलीले सार्वजनिक कार्यक्रमहरुमा ‘माधव नेपाल राष्ट्रपति बनाइदिनुपर्‍यो भनी मसँग आए’ भनी गलत प्रचार गरेको आरोप लगाए । ‘माधव नेपाल पद माग्ने मान्छे हैन, चाहेमा खोस्ने मान्छे हो,’ नेपालको भनाइ थियो । झलनाथ खनाललाई राष्ट्रपति बनाउनेबारेमा ओलीले इन्कार गरेको अध्यक्ष नेपालले बताए ।

उनले झापामा नेकपा एसलाई एमालेभन्दा बलियो पार्टी बनाउने दाबी गरे । ‘यसपटक हामीलाई गठबन्धन गर्ने बाध्यता आइलाग्यो,’ नेपालले भने, ‘आगामी चुनावमा हामी तालमेल नगरी आफ्नै ताकतले चुनाव जित्ने योजनामा छौं ।’

पूर्वप्रधानमन्त्री नेपालले माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीबीच चाँडै कार्यगत एकता भई वाममोर्चा गठन गरिने जनाए । उनले थपे, ‘विचार मिल्ने पार्टीहरुसँग कार्यगत एकता हुन्छ तर हामी विलय भएर जाँदैनौं ।’ उनले एमालेभित्र निराशाको ठूलो पहाड चुलिँदै गएको पनि बताए । ‘केपी ओलीका कारण एमाले बर्बादीको दिशातिर अग्रसर भइरहेको मैले सूचना पाएको छु,’ अध्यक्ष नेपालले थपे, ‘ओलीको व्यक्तिवादी र तानाशाही प्रवृत्तिले सिंगो पार्टी मक्किन सुरु भइसकेको छ ।’

राष्ट्रियता, संविधानको रक्षा, संघीयताजस्ता उपलब्धि जोगाउनका खातिर नेपाली कांग्रेससँग हातेमालो गरेर अघि बढिएको पनि उनले जनाए । राष्ट्रियता र सिंगो लोकतान्त्रिक व्यवस्थामामाथि चुनौती थपिँदै गएको जनाउँदै नेपालले थने, ‘यही उपलब्धिलाई गुम्न नदिन लोकतन्त्रका पक्षधरहरुसँग हातेमालो गरेका हौं ।’

धुलोमा ‘कखरा’ लेखे, ल्यापटपमा पीएचडी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा‍‍. बेदुराम भुसाल कृषि मन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार गरेको मन्त्रीमण्डल विस्तारमा भुसाललाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

भुसालसहित एकीकृत समाजवादीबाट उपमहासचिव प्रकाश ज्वालाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

लामो समय माले हुँदै एमालेमा राजनीति गरेका भुसाल दुई वर्ष अघिमात्रै एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीका संस्थापक महासचिव समेत हुन् ।

२०११ साल असारमा गुल्मी जिल्लाको धञ्चौरमा जन्मेका भुसालले २०२७ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । २०२९ कम्युनिस्ट पार्टीको सदस्यता लिएका भुसाल २०३० सालमा भएको वर्रे संघर्षमा संलग्न रहेका कारण पक्राउ परेका थिए । त्यसक्रममा भुसालले २०३० देखि २०४३ सालसम्म यातनापूर्ण जेल जीवन बिताएका थिए ।

मार्क्सवादी दर्शनको विशेष अध्ययन र प्रशिक्षण सञ्चालनको अनुभव सँगालेका भुसाल जेलबाट छुटेपछि भूमिगत राजनीति र २०४३ पछि माले र २०४७ पछि एमालेमा रहेर राजनीतिमा सक्रिय थिए ।

भुसालका मार्क्सवादी दर्शन, दर्शनशास्त्र परिचय लगायत झण्डै एक दर्जन कृति प्रकाशित छन् । २०५८ सालमा राष्ट्रिय सभा सदस्य, २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य र २०७६ देखि राष्ट्रिय सभा सदस्य रहेका उनी २०६५ सालमा नेकपा एमालेको पार्टी स्कुल विभाग प्रमुख, संगठन विभाग लगायतमा रहेर काम गरेका थिए । एमालेको स्कुल विभागमा मात्रै उनले झण्डै ५ वर्ष काम गरेका थिए ।

२०२६ सालमा स्कुले शिक्षा (कक्षा ८ मा) पढ्दापढ्दै राजनीतिक आन्दोलनमा होमिएका भुसाललाई आन्दोलनमा लागेकै कारण तत्कालीन पञ्चायती सरकारले जेलमा राखेको थियो । त्यसबेला बर्रे संघर्ष समितिमा लागेर राजनीतिक आन्दोलन चर्काएको आरोप भुसालमाथि थियो । त्यसैको बहानामा भुसाललाई तत्कालीन शासकले साढे १२ वर्ष जेलमा राख्यो ।

‘मैले जेलभित्रै बसेर एसएलसी, आईए, बीए र एमए सकेँ,’ भुसालले स्मरण गरे । तीन वर्ष अघिमात्रै ६६ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयबाट जनताको बहुदलीय जनवाद (जवज)मा विद्यावारिधी (पीएचडी) हासिल गरेका भुसाल धुलोमा कखरा लेखेर अक्षर चिने पनि पीएचडी गर्दासम्म ल्यापटपबाटै अध्ययन गर्ने भइसकेका थिए ।

‘त्यो बेलाको समय, त्यसमाथि केटाकेटी उमेर, धुलोमा लेखेर कखरा सिकेँ, त्यसबेला कपी, कलम, मसी भन्ने त कुरै भएन, लेख्नका लागि काठको पाटीसमेत दुर्लभ मानिन्थ्यो तर पछि पीएचडी गर्दा ल्यापटपबाटै लेख्नेपढ्ने भइयो’, उनले भने, ‘अहिले त सरकारी कामसमेत धेरैजसो ल्यापटपमै हुन्छ ।’

पढ्दापढ्दै जेल जान बाध्य भएका भुसालका लागि गुल्मीको तम्घास जेल नै मुख्य पाठशाला बन्न पुग्यो । एमालेमा रहँदा स्कुल विभाग प्रमुखसमेत रहेका भुसालले जीवनको उत्तरार्द्धमा कृषि मन्त्रीको जिम्मेवारीसहित पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । त्यसो त भुसालको रोजाई शिक्षा मन्त्रालय थियो तर धेरै दल सरकारमा सहभागी हुने भएपछि उनले रोजेको मन्त्रालय पाउन सकेनन् । भन्छन्, ‘सबै कुरा रोजेको पाइन्न, जे पाइयो त्यसैमा रहेर राम्रो काम गर्न सकौं भन्ने नै हो ।’

भर्खरै

सम्बन्धित खबर

Language »