सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको तीन गाउँ पालिकामा स्वास्थ्य परीक्षणपछि मात्रै प्रवेश

काभ्रेपलान्चोकको तीन गाउँपालिकामा कोरोना संसंक्रमणबाट बच्न हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले आ – आफ्ना स्थानीय तह प्रवेश गर्ने मुख्य नाकामा स्वास्थ्य परीक्षण गर्ने गरेको छ । शहरबाट गाउँ फर्किँदा हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण अनिवार्य रुपमा गर्नु पर्ने बताइएको छ ।

काभ्रेपलान्चोकको चौंरी देउरालीगाउँ पालिकाको भुम्लु गाउँ पालिका सँगको समन्वयमा दोलालघाट र आफ्नो पालिका प्रवेश गर्ने मुख्य नाका तेमालवेशीको खहरेघाट र गाउँ पालिका केन्द्र ढाँडखर्कमा हेल्थ डेस्क स्थापना गर्ने काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताए ।

त्यसरि नै तेमाल गाउँपालिकाले पनि पालिका प्रवेश गर्ने मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गरिसकेको छ । 

शहरबाट गाउँ फर्केका बस तथा मोटरसाइकललगायतका साना सवारीसाधनमा आउनेले समेत अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँपालिका प्रवेश गर्ने गरी शुक्रबारबाट स्वास्थ्य परीक्षणको व्यवस्था शुरु गरिसकेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बताए । 

“शुक्रबार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सिमानामा पर्ने तेमालको का्लीमाटी डाँडामा स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले उद्घाटन गर्नुभई स्वास्थ्य परीक्षण शुरु गरिसकेका छौँ”, अध्यक्ष तामाङले भने, “पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकाको सिमाना बोहरे दोभानमा हेल्थ डेस्क निर्माण गरिरहेकाले आजबाट परीक्षण शुरु हुनेछ ।” गाउँपालिका स्वास्थ्य शाखा संयोजक शिवहरि पाठकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको तामाङले बताए ।

रोशी गाउँपालिका प्रवेश गर्ने नाका शिखरआम्बोटे, कटुञ्जे र मङ्गलटारमा हेल्थ डेस्क स्थापना गर्ने शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले शहरबाट गाउँ फर्केकाको स्वास्थ्य परीक्षण शुरु गर्ने निर्णय गरेको बताए ।

जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा भने स्वास्थ्यकर्मीको अपर्याप्तता र जाँच गर्ने प्रविधिको उपलब्धता नभएको कारण हेल्थ डेस्क स्थापना नभएको जनाएको छ । स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जिल्लाका सबै अस्पतालका साथै मेथिनकोट अस्पताललाई उच्च सतर्कतामा राखेर आवश्यक तयारीको काम भइरहेको बताए । उनका अनुसार जिल्लाको पाँचखाल र बनेपा नगरपालिकाले पनि शुक्रबार हेल्थ डेस्क स्थापना गरिएको छ । 

त्यससँगै स्थानीय तहले आफ्नो स्थानमा क्वारेन्टाइनको लागि विद्यालय भवनलगायतका अन्य भवनलाई खाली गरेर कम्मलगायत अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्न बिहीबार नै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्देशनसमेत जारी गरिसकेको छ । 

त्यसको लागि आवश्यक सामग्री, ड्रेस, मास्क र अन्य आवश्यक सामानको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढिरहेको समेत उनले बताए । जिल्लामा कोरोना भाइरसको जोखिमबाट हुनसक्ने जोखिमबाट मुक्त हुन उच्च सतर्कताका लागि नेपाली सेनाको टोलीले क्वारेन्टाइनको लागि आवश्यक ठाउँको व्यवस्थापनमा लागिरहेको र जिल्लाका अस्पतालले आइसोलेसनको व्यवस्था गर्ने काम तीव्ररुपमा भइरहेको डाक्टर झाले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »