साराखबरको लागि समिक्षा थापाको रिपोर्ट
काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं हप्ता प्रवेश गरेको अवसरमा शनिवार बसुन्धारा चौकी आसपास क्षेत्रमा सरसफाई गरिएको हो ।
शनिवारको अभियानमा विभिन्न संघ–संस्था,स्वास्थ्यकर्मी, सञ्चारकर्मी, नेपाल प्रहरी, अभियन्ता तथा स्थानीय नागरिकको सक्रिय सहभागिता रहेको थियो।
‘फोहोर नगर्नुहोस्, जथाभावी फोहोर नफाल्नुहोस् र आफ्नो ठाउँ आफैँ सफा राखौँ’ भन्ने सचेतनामूलक सन्देश रहेका प्लेकाड पनि प्रदर्शन गरिएको थियो।
अभियानका संयोजक ग्रीन सिटी अस्पतालका अध्यक्ष तथा सञ्चालक लोकबहादुर टण्डन अस्वस्थ भई अस्पताल भर्ना भएको हुँदा अभियान्ता हरुले उहाँलाइ भेटेर स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
सरसफाइ अभियान केवल फोहोर उठाउने कार्यक्रम मात्र नभई देशप्रेम, सामाजिक जिम्मेवारी, एकता, संस्कार, संस्कृति र नेपालीपनलाई व्यवहारमा उतार्ने अभियान भएको अभियन्ताहरूको भनाइ छ। उनीहरूले स्वच्छ वातावरण निर्माण गर्ने जिम्मेवारी कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताएकाछन् । विद्यार्थीले कक्षाकोठामा प्राप्त गर्ने सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक जीवनका सीप र सामाजिक जिम्मेवारी पनि सिक्नुपर्ने भएकाले सरसफाइ अभियान उनीहरूका लागि महत्वपूर्ण सिकाइको माध्यम बनेको अभियन्ताहरू बताउँछन्।
‘स्वास्थ्यबिनाको शिक्षा अधुरो हुन्छ र व्यवहारिक ज्ञानबिनाको सैद्धान्तिक ज्ञान अपूर्ण हुन्छ’ भन्ने नाराको साथ ४८९ हप्तादेखि निरन्तर चल्दै आएको छ ।
अभियान संचालन पछी चक्रपथ क्षेत्रमा सरसफाइप्रतिको चेतना र वातावरणमा सकारात्मक परिवर्तन देखिएको छ।









