सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा कर्फ्यु थप दुई घण्टा घटाइयो, निषेधाज्ञा जारी


नेपालगन्ज, नेपालगन्जको अवस्था सुधार हुँदैगएर जनजीवन पुनः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दैनिक रूपमा लगाउँदैआएको कर्फ्युलाई घटाउँदैलगेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार एक सूचना जारी गरी उपमहानगरको अवस्था शान्त र सामान्य बन्दैगएकाले थप दुई घण्टा कर्फ्यु घटाइएको जनाएको छ ।


प्रशासनद्वारा जारी गरिएको सूचनामा शनिबार राति ८ बजेदेखि नेपालगन्जमा लगाइएको कर्फ्यु आइतबार बिहान ४ बजेदेखि हटाइएको जानकारी गराइएको छ । आइतबार राति १० बजेदेखि सोमबार बिहान ४ बजेसम्म नेपालगन्जको पूर्वमा राप्ती नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले यसअघि राति ८ बजेदेखि लाग्दै आएको कर्फ्युलाई दुई घण्टा घटाएर राति १० बजेबाट लगाइएको बताउनुभयो । उहाँले हाललाई कर्फ्यु राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र जारी रहने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार कर्फ्यु घटाउँदै गए पनि निषेधाज्ञा भने यथावत् रहेकाले उपमहानगरपालिका क्षेत्रभित्र कुनै भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न पाइने छैन ।


उक्त क्षेत्रभित्र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउनेगरी दिनभरि निषेधाज्ञा जारी गरिएको बाँके प्रशासनले जनाएको छ ।
गत मंगलबार अशान्त बनेको नेपालगन्जको सुरक्षा अवस्था नियन्त्रणमा आइ जनजीवन सामान्य बन्दैगएकाले कर्फ्युको समय घटाउँदै लगिएको हो । विहीबारबाटै नेपालगन्जको अवस्था सामान्य बन्दैगएको छ । शनिवार तथा आइतबार नगरका सम्पूर्ण पसल, बजार व्यवसाय सञ्चालनमा आएका छन् ।
गोरखापत्र अनलाइन

भर्खरै

सम्बन्धित खबर

Language »