सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुकुम पश्चिममा अस्थायी आवास बनाउन ३ हजार माओवादीका स्वयंसेवक परिचालित

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् ।

रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्लाको सिंगो माओवादी पार्टीलाई स्वयंसेवक दलमा रुपान्तरण गरिएको जिल्ला संयोजक गोविन्द रोका (सचिन)ले जानकारी दिए । ‘जाडो बढ्दै गएको छ, त्रिपाल मुनि रहेका भूकम्प प्रभावितलाई छिटोभन्दा छिटो घरमा सार्नुपर्ने छ,’ रोकाले भने, ‘त्यसैले जिल्लाको कुनै पनि जिम्मेवार कार्यकर्ता पुनर्निर्माणबाहेक अन्य काममा छैनन् ।’
अहिले भूकम्पले बढी प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा स्वयंसेवक टोली केन्द्रित भएको छ । त्यहाँको काम सकिएपछि कम प्रभावित अन्य पालिकामा टोलीलाई खटाउने योजना छ ।

पश्चिम रुकुमको सिंगो माओवादी पार्टी बिहानैदेखि साँझ अबेरसम्म अस्थायी आवास निर्माणमा खटिएको र ३ हजार सदस्यीय स्वयंसेवक दल गठन गरी जिल्लास्तरीय कमाण्ड पूर्वमन्त्रीसमेत रहेका जनार्दन शर्माले गरेको रोकाले बताए ।
माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य तथा बाग्मती प्रदेशका इञ्चार्जको जिम्मेवारीमा छन् । उनले बागमती प्रदेशका नेता कार्यकर्तासँग केही दिनको बिदा लिएको र गृह जिल्लामा स्वयंसेवक दलको संयोजक बनेर अस्थायी आवास निर्माणमा खटिएको बताए ।

पश्चिम रुकुममा २६ हजार घर पुनर्निर्माण गर्नुपर्ने भएपनि अस्थायी आवास भने १६ देखि २० हजार जति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलका नेता–कार्यकर्ताहरु पनि खटिएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास छिटो पुनर्निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाउने निर्णय गरेको छ ।

गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र भएर गएको ६।४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिमका बस्ती तहसनहस बनाएको छ ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको विवरण अनुसार भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५४ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । यसैगरी जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएका छन् । घरबारविहीन भएकाहरु खेतबारी, सडक किनार र खुला चौरहरुमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

भूकम्प गएको भोलिपल्टदेखि नै गृह जिल्ला रुकुम पश्चिममा केन्द्रित भएका शर्माले वर्षायाम सुरु हुनुभन्दा अघि नै पीडितहरुलाई नयाँ घरमा सार्ने योजनाअनुसार काम भइरहेको बताए । ‘पुनर्निर्माणका काम दुई चरण हुनेछन् । पहिलोमा अस्थायी टहरा निर्माण गरिने छ । टेम्पोररी लिभिङ सेन्टर ९टि।एल।सी।० अर्थात अस्थायी छानाहरुले नयाँ घर नबनेसम्मको समयलाई आश्रय दिनेछन् र दोस्रोमा भूकम्प प्रतिरोधी नयाँ घरहरु बनाउनुपर्ने छ,’ उनले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »