सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य सङ्घले संयुक्त आन्दोलण घाेषणा



नेपालगन्ज, बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य सङ्घले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपालगन्जमा आयोजना गरिएको बृहत् भेला र अन्तरक्रियापछि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीको संयोजकत्वमा एक हजार एघार सदस्यीय सङ्घर्ष समिति गठन गरिएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले दिनुभएको जानकारी अनुसार सङ्घर्ष समितिको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी रहनुभएको छ भने सदस्य सचिवमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाट रहनुभएको छ । समितिको सचिवालय ४१ सदस्यीय छ ।

नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्नपरेका समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बाँके र बर्दियाका १३ उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्का, बर्दिया उद्योग वाणिज्य सङ्घ राजापुरका अध्यक्ष केदार थापा, गुलरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवेन्द्र पाण्डे, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेल, बढैयाताल उद्योग वाणिज्य सङ्घका अध्यक्ष बालकृष्ण लामिछाने, मधुवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा रिमाल, बाँसगढी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बद्री बराल, बारबर्दिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष नमराज पौडेल, ठाकुरबाबा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोविन्दप्रसाद आचार्य, गेरुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर धामी, राप्तीसोनारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष टीकाराम ढुङ्गाना र व्यावसायिक सरोकार मञ्च बाँकेका अध्यक्ष देवानन्द अर्यालको सहभागिता थियो ।

गठन गरिएको सङ्घर्ष समितिमा दुवै जिल्लाका विभिन्न उद्योगी व्यवसायीहरुको संस्थाका अध्यक्ष र अगुवा उद्योगी व्यवसायीलाई समावेश गरिएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटले बताउनुभयो । उहाँले सङ्घर्ष समितिका कर्णाली र सुदुरपश्चिमका उद्योगी व्यवसायीलाई पनि समेटिने योजना रहेको बताउनुभयो ।

अव्यावहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्न परेका समस्या समाधान गराउन गरिने आन्दोलनका कार्यक्रम एकदुई दिनमै तय गरेर आन्दोलन शुरु गरिने समितिका संयोजक नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले बताउनुभयो । ( सिराज खान)

भर्खरै

सम्बन्धित खबर

Language »