सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद बीच समझदारी-पत्रमा हस्ताक्षर

काठमाडौं, Road Accident Information Management System (RAIMS) सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणमा सहकार्य गर्न नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्‍ बिच समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्र कुमार झा ले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोह बिच सोमबार उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवम् ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गर्नुभयो । यस सम्झौताले दुर्घटना न्यूनिकरणका साथै धनजनको क्षतिमा समेत कमी ल्याउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवम् यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायहरूको साथ सहयोग र समन्वय आवश्यक रहनेमा उहाँले जोड दिनुभयो ।

समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा. पार्थ पराजुलीले RAIMS सफ्टवेयर संचालन तथा ट्राफिक सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

यातायात पूर्वाधारहरूको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमताहरूलाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ । साथै, ती उद्देश्यहरू हासिल गर्न स्थानीय विज्ञहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय परामर्शदाता समेत खटाइएको छ । नेपाल प्रहरीले चालेका मादक पदार्थ सेवन अनुगमन, लेन अनुशासन, सवारी भार क्षमता अनुगमन जस्ता कदमहरूले सडक दुर्घटनामा कमी ल्याउन सफल भएतापनि दीगो व्यवस्थापन र भरपर्दो सडक सुरक्षा अविलम्ब लागू गर्ने उद्देश्यका साथ मन्त्रालय, विश्व बैंक, राष्ट्रिय सडक सुरक्षा परिषद् र नेपाल प्रहरी बिचको सहकार्यमा पुन: RAIMS लागू गरिन लागेको कार्यक्रममा जानकारी गराइयो ।

समारोहमा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ कृष्णन् श्रीनिभाशन, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय सडक सुरक्षा परिषद्का पदाधिकारीहरू, सडक विभागका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »