काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका.७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिक.१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले रहेका छन् ।
ललितपुर महानगरपालिका.१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका.१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको छ ।
यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका.४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका.१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका.३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।