सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राम नवमीमा सामाजिक अभियन्ताहरु अभिनन्दित

काठमाडौं । मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्म जयन्ती राम नवमीको अवसरमा महर्षि दिपक प्रतिष्ठान काठमाडौंले समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लब्धप्रतिष्ठित ब्यक्तीहरुलाई काठमाडौमा एक कार्यक्रमका विच सम्मान तथा अभिनन्दन गरेको छ ।

कार्यक्रममा धार्मिक अभियन्ता तथा लेखक डा. शास्त्रदत्त पन्त, विशाल नेपाल महाअभियानका संयोजक तथा ग्रेटर नेपालका डा. सुरेन्द्र ढकाल र चिकित्सा क्षेत्रमा विशिष्ठ योगादन पुर्याएका डा. मनोहरलाल श्रेष्ठलाई अभिनन्दन गरेको हो ।

समारोहमा श्री गोरखनाथ मठ मृगस्थलीका शिर्षनाथ महाराजले दोसल्ला र अभिनन्दनपत्रले सम्मान गर्नु भएको थियो । अभिनन्दन कार्यक्रममा बोल्नुहुँदै महाराज शिर्षनाथले नेपालको आफ्नै किसिमको माटो सुहाउने शिक्षा र उत्पादनका लागि सबै पक्षले जोड दिई राष्टगुरु योगी नरहरिनाथको परिकल्पना र शिक्षाले मात्रै देशको समृद्धि हासिल हुने कुरामा जोड दिनु भयो ।

अहिले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गैरहेको प्रति चिन्ता ब्यक्त गर्दै उहाँले सनातन संस्कृति र हिन्दु समाजमा पश्चिमी संस्कृतिको अतिक्रमणबाट नेपाली समाज विखण्डन हुदै गएको र हाम्रो समाज विकृत बनेकोले नेपाली समाजमा एकता र भाईचाराको सम्बन्धले मात्रै राष्ट्र रक्षा र धर्म रक्षा हुनसक्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा दर्शनशास्त्री डा. शास्त्रदत्त पन्तले वेदले मार्गनिर्देश गरेका नीतिले मात्र मुलुकको रक्षा र नेपालीहरुको हितमा काम गर्न सक्ने कुरामा जोड दिनु भयो । उहाँले समाजको रुपान्तरणका लागि सनातन संस्कृतिले मात्र सम्भव हुने विचार ब्यक्त गर्नुभयो । विशाल नेपाल महाअभियानका संयोजक डा. सुरेन्द्र ढकालले विदेशीहरुको रणनीति अनुसार देशका नेता र विज्ञ भनाउँदाहरुले यो मुलुकलाई बर्बादीतिर लैजाने गरेकोले त्यसको प्रतिकार गर्न आम नागरिक एक हुनु जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो –विशाल नेपाल महाअभियानमा सबैजना सहभागि बनौं, देशको रक्षाका लागि र गुमेको भूमि फिर्ता गराउन आन्दोलित हुन जरुरी छ । युवा पुस्तालाई राष्ट्रिय प्रेमका बिषयमा जागरुक गराउनु आजको आवश्यकता रहेको छ ।

चिकित्सा क्षेत्रका अग्रज सामाजिक अभियन्ता डा. मनोहरलाल श्रेष्ठले आम नागरिकको स्वास्थ्यको अवस्था संवेदनशिल बनिरहेको हुनाले खानपान र आहार विहारमा सुधार ल्याउन जरुरी रहेको बताउनु भयो । स्थानीय र प्राङ्गारिक उत्पादनलाई जोड दिन सकेमा मात्र आम सर्वसाधारणको स्थास्थ्यमा सुधार आउने छ, नेपाली वन्यजडिबुटीको भरपुर उपयोग गर्न सकेमा मात्रै पनि नागरिक स्वस्थ र देशको समृद्धि सम्भव हुनेछ उहाँले भन्नुभयो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष साधक दिपक बानियाँको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमलाई प्रतिष्ठानका सचिव सुबास पौडेलले सहजिकरण तथा सञ्चालन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »