सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण


नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको बढी जोखिम रहेकाले स्थानीयलाई निःशुल्क झुल वितरण गरिएको हो ।

वार्ड नंं. ४ अन्र्तगत करिब एक हजार दुई सय घरधुरीलाई तीन हजार पाँच सय ९९ किटनाशकयुक्त झुल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । शाखा प्रमुख शर्माका अनुसार गाउँपालिकाको वार्ड नंं ४ मा केही दिन अघि दुई जनामा औलो रोग पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वास्थ्य शिक्षासंगै सावधानीका लागि झुल वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष शाहिदा बानो र वडाध्यक्ष सगिर खाँले स्थानीयलाई झुल वितरण गर्दै स्वास्थ्य जस्तो अति सम्बेदनशिल विषय भएकाले रोगबाट बच्न विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिदै स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

पालिकाले घरधुरी सर्भेक्षण पश्चात रोगबाट बच्नका लागि निःशुल्क किटनाशकयुक्त झुल वितरण गरेको जनाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको सयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।

यसैगरि सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान अन्र्तगत डुडुवा गाउँपालिकाले पनि आज भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ ।

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । पालिकाका विभिन्न वडामा स्वयम्सेविकामार्फत औषधी खुवाइएको स्वास्थ्य शाखाका पवन कुमार कैराँतीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »