सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्रीको विरोध गरेका युवालाई बिना कसुर चार दिन हिरासतमा राखेपछि धरौटीमा रिहा

काठमाडौं ।गएको  सोमबार (भदौ १० गते) टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरेपछि पक्राउ परेका तीन युवालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छाडेको छ।

सार्वजनिक शान्तिविरूद्धको कसुर गरेको भन्दै पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार प्रत्येकलाई ९/९ हजार धरौटीमा छाडेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगेलले जानकारी दिए।

टुँडिखेलमा भएको गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेपछि मंगलबार सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई र बुधबार दीपकसिं‌ह ठगुन्नालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

उनीरूले के अपराध गरेका थिए जसले गर्दा उनीहरू चार दिनसम्म हिरासतमा बस्नुपर्‍यो? उनीहरूलाई किन धरौटी माग गरियो? भन्ने प्रश्नको जबाफ प्रहरी र प्रशासनले दिन सकेको छैन।

काठमाडौं प्रहरीले त उनीहरूलाई लगाएको कसुर कुन थियो भन्ने पनि दिन सकेको छैन।

गौरा पर्वको कार्यक्रममा युवाहरूले ‘केपी ओली मुर्दावाद, केपी तिम्रो पाराले दु:ख पायो साराले अनि शेरबहादुर देउवा मुर्दावाद, तिमीहरू देश छोड’ भनेर नारा लगाएका थिए।

यी नारा अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत विरोध गर्न पाउने संवैधानिक हक अन्तर्गत पर्छन् कि सार्वजनिक अपराध अन्तर्गत पर्छन् भनेर जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीलाई हामीले सोधेका थियौं।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलाई यिनै प्रश्न सोध्दा उनले भने- मुद्दा जिल्ला प्रशासन कार्यालयमा पेस गरिसकिएको हुँदा सोही कार्यालयमा समन्वय गर्न अनुरोध गर्दछु।

सोमबार घटनाबारे परिसरका प्रहरी अधिकारीहरूसँग कुराकानी गर्दा यो घटनालाई ‘सामान्य’ भएको बताएका थिए। तर मंगलबार र बुधबार भने परिसरले सार्वजनिक शान्तिविरूद्ध कसुर गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको थियो।

अब हेरौँ, कानुनले के कुरालाई सार्वजनिक शान्ति विरूद्धको कसुर भन्छ र ती तीन युवाले गरेको विरोध यो कसुर अन्तर्गत पर्छ कि पर्दैन?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२ मा सार्वजनिक शान्ति विरूद्धको कसुर भनेर १५ वटा कसुरहरू उल्लेख गरिएका छन्।

गैरकानुनी भेला गर्न नहुने, गैरकानुनी भेला रोक्ने वा भंग गर्ने आदेश उल्लंघन गर्न नहुने, हुलदंगा गर्न नहुने, हुलदंगा गर्न दुरूत्साहन दिन नहुने, सार्वजनिक शान्ति खलल पार्न नहुने, सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने लगायतका दफाहरू उल्लेख गरिएका छन्।

यसरी उल्लेख भएका दफा अनुसार पक्राउ परेका ठगुन्ना, जैसी र बुढाले कसुर गरेको भने देखिन्न। न ती युवाले गरेको नाराबाजी यी १५ वटामध्ये कुन कसुरमा पर्छन् र कसरी पर्छन् भनेर प्रहरी अधिकारीहरूले जबाफ दिएका छन्।

बरू शुक्रबार गृहमन्त्री रमेश लेखकले भने ती युवालाई पक्राउ गरिएकोमा बचाउ गरे।

गृह मन्त्रालयमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनलाई पत्रकारले सोधे- नाराबाजी गरेकै आधारमा प्रहरीले पक्राउ गरेको घटना कत्तिको उचित हो?

गृहमन्त्री लेखकले आफूहरूले स्वतन्त्रताको हकलाई कुण्ठित पार्न नखोजेको बताए।

‘हामी जुन राजनीतिक पार्टीबाट आएका छौं, जुन राजनीतिक पार्टीको मुख्य विषय भनेकै बहुलवाद हो, बहुदलीयता हो, नागरिकको स्वतन्त्रता हो, र त्यो स्वतन्त्रताभित्र आलोचना गर्ने स्वतन्त्रता पनि पर्छ, आफ्नो विचार सम्प्रेषण गर्न पर्छ, त्यसैका लागि हामी लडेका हौं, त्यसलाई कुण्ठित गर्ने कुरै छैन,’ उनले भने, ‘मान्छेले आफ्नो कुरा राख्न पाउँछ, आफ्ना कुरा राख्न पाइन्छ। तर आलोचना कहाँ गर्ने, के गर्ने, हाम्रो सभ्यता के हो, संस्कृति के हो…।’

त्यस्तै अरू कसैले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा गएर राजनीतिक नाराबाजी गर्नु उचित नभएको उनले बताए।

‘एउटा सांस्‍कृतिक कार्यक्रम जुन कुनै पनि राजनीतिक कार्यक्रमसँग सम्बन्धित छैन। सांस्कृतिक कार्यक्रम त्यो पनि कुनै आयोजकले आयोजना गरेको कार्यक्रममा गएर हामीले राजनीति गतिविधि नाराबाजी गर्न थाल्यौं भने हाम्रो संस्कृति संस्कार सभ्यतासँग मेल खान्छ? ठीक हुन्छ?,’ उनले अगाडि थपे, ‘आ-आफ्नो मञ्चमा उभिएर जतिसुकै विरोध गर्न पाइन्छ। सडकमा उभिएर जतिसुकै विरोध गर्न पाइन्छ। तर विरोध गर्दा अर्काको भावनालाई पनि ख्याल राख्नुपर्छ। अरू कुरा त सबै कानुन बमोजिम नै हुन्छन्, कानुनभन्दा बाहिर हुँदैन। मेरो एउटै प्रतिबद्धता के हो भने कुनै खालका पनि स्वतन्त्रताका अवरूद्ध हुने काम हुँदैन।’

तर ती यूवाहरू कुनै निजी स्थानमा गएर कुनै पर्व, जातजाति वा संस्कृतिविरूद्ध नाराबाजी गरेका थिएनन्। उनीहरूले टुँडिखेलमा भएको सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री र सत्तारूढ दलका सभापतिविरूद्ध नाराबाजीमात्र गरेका थिए।

लोकतन्त्रमा नेताहरूको विरोध गर्न र उनीहरूविरूद्ध नारा लगाउन पाइन्छ। हाम्रो संविधानले पनि त्यो हकलाई स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता भनेर संरक्षण गरेको छ।

सोमबार उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरू सहभागी थिए। 

ती युवाहरूले नाराबाजी गरेपछि शेरबहादुर देउवा स्टेजमै रिसाएका थिए। उनले कार्यक्रम बिथोल्न खोजेको भन्दै जनताले ठीक पार्ने भन्दै भाषण गरेका थिए।

‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन। गौरा पर्वको कार्यक्रम बिथोल्ने? यही हो नेपालको चलन? यही सिकेर आएको? बदमासहरू। आदरणीय दाजुभाइ दिदीबहिनीहरू यस्तै छ। यहाँ गौरा पर्व सुन्न आएकाहरू छन्, देउडा खेल्न आएकाहरू छन्। यस्ता कार्यक्रम बिथोल्नेहरू बसेका छन्। जनताले ठीक पार्नुपर्छ भन्नेमा विश्वास छ,’ उनले भनेका थिए। 

प्रधानमन्त्री ओलीले पनि गौरा पर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए।

नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको ओलीले भनाइ राखेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »