काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत साथी बनेर गुलियो कुरा गर्ने ३० वर्षीय युवकले चोरी धन्दा चलाएको भेटिएको छ । महोत्तरी घर भएका जितेन्द्र मण्डलले डाक्टर हुँ भनेर घरमा प्रवेश गर्ने र चोर्ने धन्दा सञ्चालन गरेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल पछाडि एक वृद्धको घरमा उपचार गर्ने बहानामा प्रवेश गरेर उनले सुन र नगद लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
लुटमा संलग्न मण्डललाई नुवाकोटबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । स्वास्थ्य जाँच गर्न घरमा नै आउँछु भनेर उनले ती वृद्धलाई लट्ठ्याउने औषधी खुवाएर चोरेर फरार भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
नुवाकोटमा अर्का पीडितलाई लुट्न जाँदा उनी पक्राउ परेका हुन् । भक्तपुरको गाम्चा बस्दै आएका उनले सबैलाई ‘डाक्टर हुँ’ भन्ने गरेका थिए । उनको डेराबाट प्रहरीले विभिन्न प्रकारका औषधी बरामद गरेको छ ।
मण्डलले चोरेको सुन खरिद गर्ने जनकपुर र महोत्तरीका दुईजना सुन पसल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सातदोबाटाे उनले १७ लाख बराबरको सुन र गहना चोरेर भागेका थिए ।
उनले चोरेको ८ तोला भन्दाबढी सुन प्रहरीले बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।








