कपिलवस्तु, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ब्याडमिन्टन संघको तदर्थ समिति गठन गरेको छ । सुभाष श्रेष्ठको संयोजकत्वमा गठित ४१ सदस्यीय तदर्थ समितिमा कपिलवस्तु ब्याडमिन्टन संघका अध्यक्ष दिनेश हमाल केन्द्रीय तदर्थ समितिको सदस्य पदमा चयन भएका छन् ।

राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा २०८१ चैत २९ गते बसेको परिषदको १२२ औं बोर्ड बैठकको निर्णय अनुसार गठित तदर्थ समितिलाई ३ महिना भित्र परिषदको स्वीकृतिमा साधारणसभा तथा निर्वाचन गर्ने म्यान्डेट दिइएको छ ।
यस समितिले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा ४ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ बमोजिम क्रियाशील जिल्ला तथा प्रदेश संघहरूको भेला बोलाई ३ महिनाभित्र साधारणसभा तथा निर्वाचन सम्पन्न गरी संघलाई पूर्णता दिनुपर्नेछ । गठित तदर्थ समितिको संयोजकमा सुभाष श्रेष्ठ र सहसंयोजकमा दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।
सदस्य मनोनित हमाल २०७६ सालयता जिल्ला कपिलवस्तु ब्याडमिन्टन संघका अध्यक्ष छन् । हमालको नेतृत्वमा जिल्लाका २१ सदस्यीय कार्य समिति रहेको छ । गत १५ फागुनमा बसेको राखेपको १२१ औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी नेपाल ब्याडमिन्टन संघ सहित ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको थियो । रामजीबहादुर श्रेष्ठ अध्यक्षताको समितिलाई राखेपले निलम्बन गरी बोर्डको १२२ बैठक द्वारा सुभाष श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
कपिलवस्तु जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रतिभावान खेलाडी उत्पादन भएको स्मरण गर्दै ब्याडमिन्टन खेलको विकासमा आफ्नो तहबाट भूमिका निर्वाह गर्ने केन्द्रीय सदस्य हमालले बताए ।