काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको कविता कृति “चोटहरुको उत्सव” लोकार्पित भएको छ ।
राजधानीमा शुक्रबार आयोजित एक समारोह बिच उक्त कृतिको बरिष्ठ कवि तुलसी दिवस,साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी,गायिका आनी छोइङ डोल्मा लगायतले लोकार्पण गरे ।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा आफ्नो विचार राख्दै कवि दिवसले भने-“चोटहरुले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ । चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ ।
आँसु चुहुन पनि हाँसो भन्दा महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ । दुनियाँमा कवि लेखकहरुले चोट पाएर नै सृजना गरेका हुनु । कवि बेलवासेका कविता त्यस्तै छन् ।” चर्चित गायिका आनीले महको स्वाद चाखेको तर महको वयान गर्न नजानेको जस्तो लाग्छ । बेलवासेले देखेका,भोगेका अनुभवहरु संगालेर सुन्दर कविता कोर्न सफल भएका छन् । कविता सुन्दा आनन्द आउँछ । उनले कृतिको लागि बेलवासेलाई बधाई दिइन् । कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले प्रेममाथिको मेडियसन मात्र नभएर मेडिटेसन पनि हो ।भन्दै उनले अगाडि भने -“अझै बेलवासेका कविता इन्टरभेसन पनि हो । कविता बौद्धिकताले भरिएका छन् । प्रेम दर्शन र भोगाइहरु कवितामा बलशाली बनेर आएका छन् ।” स्रष्टा बेलवासेले आफ्ना अनुभूति राख्दै भने- “पैसा कमाउन नसकेपनि साथी र आफन्त कमाएको छु । बाँच्नका लागि चाहिने सम्बन्ध बनाएको छु । उनले अगाडि भने आफुनो चोट र पीडा मात्र नभएर मानवका चोट र पीडाहरुको रुपलाई कविताको रुप दिने प्रयास मात्र गरेको हुँ ।” यस अघि सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कवि बेलवासेलाई सम्मान पत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष समेत रहेका सिलवालले प्रतिष्ठानको बारेमा संक्षेपमा प्रकाश पारेका थिए । कार्यक्रममा लोकार्पित कृतिका कविताहरु कवि विश्व सिग्देल,मणि लोहनी,सोझो गाउँले,हेम प्रभास,शोभा अधिकारीले बाचन गरे ।
प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले गरेका थिए ।