बाँके, बैजनाथ , बैजनाथ गाउँपालिका सभाहलमा एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। मधेस मानव अधिकार गृह (माहुरी होम) र पिबिआई नेपाल (PBI Nepal) को संयुक्त साझेदारीमा सञ्चालित “संरक्षण परियोजना” अन्तर्गत स्थानीय परियोजना सल्लाह समिति (LPSC) को कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो।
प्रमुख अतिथि अध्यक्ष शाहीले लक्षित वर्गका लागि ११ वटा सञ्जाल निर्माण गरेर आवश्यक सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो। साथै, आगामी दिनहरूमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम अध्यक्ष रोकायले महिला, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायत आत्मनिर्भर बनाउने विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो। संरक्षण परियोजनाको उद्देश्य, हालसम्मको उपलब्धि तथा कार्य क्षेत्रबारे परियोजना संयोजक रिखिराम निगमले प्रस्तुतिकरण गरेका थिए । संरक्षण परियोजना पिबिआई नेपालको सहयोगमा सञ्चालित छ । माहुरी होम मधेशी, अल्पसंख्यक, सिमान्तकृत, दलित, महिला, मुस्लिम लगायतको मानव अधिकारको संरक्षण, संबद्र्धन र सम्मानमा काम गरिरहेको संस्था हो ।
मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेका जिल्ला अध्यक्ष एवम् संरक्षण परियोजनाका सामाजिक परिचालक दिनेश ठाकुरले माहुरी होमले सञ्चालन गरेको संरक्षण परियोजना अन्तर्गत अल्पसङ्ख्यक सिमान्तकृत समुदायको पहिचान तथा सामाजिक न्याय प्राप्तिको अवस्था विषयक कार्यशाला आयोजना गरिएको बताउनुभयो।








