सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिकामा विकास निर्माणको काम तीब्र गतिमा !

जानकी (बाँके) , जानकी गाउँपालिकामा विकास निर्माणको काम तीब्र गतिमा भएको देखिएको छ । जानकी गाउँपालिकाको पूर्वाधार विकास सम्वन्धि आर्थिक वर्ष २०७९/८० देखि हालसम्म सम्पन्न भएका योजनाहरुको स्थलगतरुपमा प्रत्यक्ष अनुगमन गर्दा विकास तीब्र गतिमा भएको देखिएको हो ।

विशेष अनुगमन समितिको टोलीले पालिकाको वडा नम्बर १ देखि ६ सम्म वडागत रुपमा अवलोकन गर्दा विकास निर्माणको क्षेत्रमा तीब्र गतिमा काम भएको देखिन्छ । साथसाथै योजना निर्माण र कार्यान्वयन गर्दा जनताको माग र आवश्यकताको आधारमा समानुपातिक वजेट विनियोजन भएको समेत देखिएको छ ।

समग्र पूर्वाधार, शिक्षा ,स्वास्थ्य ,कृषितर्फ काम धमाधम भइरहेको छ भने केही निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै सामुदायिक विद्यालय, मन्दिर, मस्जिद र मदरसाको भवन निर्माणमा समेत गाउँपालिकाले लगानी गरेको छ । कतिपय योजनाहरुमा थप बजेटको आवश्यकता देखिएको छ ।

स्थलगत विशेष अनुगमनले आगामी आर्थिक वर्षमा योजना निर्माण गर्दा थप मार्गदर्शन गर्ने गाउँपालिकाले अपेक्षा गरेको छ । विकास निर्माणमा भइरहेका कार्य प्रगतिबाट स्थानीयहरु समेत सन्तुष्ट देखिएका छन् । जानकी गाउँपालिका वडा नम्बर १ साईगाउँका पल्टुराम ठाकुर र वडा नम्बर ५ गुरुवागाउँका जाविर मनिहार तीब्र गतिमा विकासको काम भइरहेको बताउँछन् । उनीहरु पालिकाको कामप्रति सन्तुष्ट देखिन्छन् ।

६ वटै वडामा जानकी गाउँपालिकाले विनियोजन गरेको नीति तथा कार्यक्रम अनुरुप नै बजेट ल्याएको र सोही अनुरुप पूर्वाधारको क्षेत्रमा काम गरेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादव बताउँछन् ।गाउँपालिकाले आफ्नो कार्य क्षेत्रभित्र गर्नुपर्ने विकास निर्माणका हरेक कामहरुको अनुगमन गर्नुपर्ने, निरीक्षण गर्नुपर्ने, त्यसबाट कस्तो परिस्थिति आउँछ, गाउँपालिकाबाट खर्च गरिएको बजेटको सदुपयोग के कस्तो रुपमा भएको छ, सबै तथ्याङ्क समेत लिनुपर्ने र त्यसलाई आगामी वजेट विनियोजनका लागि आधार तत्वको रुपमा लिनुपर्ने भएकोले अनुगमन जरुरी रहेको बताउँछन्, प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक ।

आफू निर्वाचित भएर आइसकेपछि हालसम्म १५ हजार मिटर पीच, पिसिसी, ग्राभेल, नाली निर्माण भइसकेको गाउँपालिका अध्यक्ष छब्बन खाँ बताउँछन । त्यस्तै सामुदायिक विद्यालय, मन्दिर, मस्जिद र मदरसाको भवन निर्माणमा समेत गाउँपालिकाले लगानी गरेको अध्यक्ष खाँले बताए ।

गाउँपालिकाको पूर्वाधार विकास सम्वन्धि आर्थिक वर्ष २०७९/८० देखि हालसम्म सम्पन्न भएका योजनाहरुको स्थलगतरुपमा प्रत्यक्ष अनुगमन पश्चात सोमबार गाउँपालिका अध्यक्ष खाँ, प्रमुख प्रशासकीय अधिकृत विक, १ देखि ६ नम्वर वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न समितिका संयोजकहरु, पालिकाका शाखा प्रमुखहरुको विशेष समिक्षा बैठक बसी आउने आर्थिक वर्षमा के कस्ता योजना ल्याउँदा जनतामुखी हुन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »