सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओलीको राहदानी रोक्का गर्ने र बस्नेतमाथि अनुसन्धान अगाडि बढाउने

काठमाडौं ।  नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने र नेता महेश बस्नेतमाथि अनुसन्धान अगाडि बढाउने सरकारको निर्णयप्रति राष्ट्रिय युवा संघ नेपालले आपत्ति जनाएको छ ।

युवा संघले आज प्रेस विज्ञप्ति जारी गर्दै २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगले पर्याप्त प्रमाणबिना प्रारम्भिक चरणमै ओलीको राहदानी रोक्का गर्ने निर्णय गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरेको छ । संघले प्रमाणबिना अपराधी करार गर्नु अनुचित र पक्षपातपूर्ण रहेको जनाएको छ ।

संघले ओलीलाई ‘राष्ट्रका लागि समर्पित जीवन बिताएका व्यक्तित्व’ भन्दै राहदानी रोक्का गर्ने निर्णयलाई अत्यन्तै हलुका ढङ्गको र अराजनीतिक कार्य भनेको छ ।

त्यस्तै, बस्नेतमाथि मुद्दा चलाउने तयारी भइरहेको समाचारप्रति पनि संघले गम्भीर चासो व्यक्त गरेको छ । संघले सरकारलाई प्रतिशोधको राजनीतिबाट टाढा रहन र यस्तो कार्यबाट बच्न आग्रह गरेको छ ।

यही क्रममा गृह मन्त्रालयले २४ भदौको घटनामा संलग्न केही व्यक्तिहरूलाई कारबाही नगर्ने निर्णयसमेत आलोचनाको विषय बनेको छ । विज्ञप्तिमा यस्तो निर्णयले ‘दण्डहीनतालाई प्रश्रय’ दिने र ‘कानूनी राज्यको उपहास’ हुने उल्लेख छ ।

युवा संघले जेन–जी आन्दोलनको मागप्रति आफूहरू सचेत रहेको र आगामी २१ फागुनमा प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर, संघले सरकार मूल उद्देश्यबाट विचलित भई राजनीतिक प्रतिशोधमा केन्द्रित भइरहेको आरोप लगाएको छ ।

अध्यक्ष क्षितिज थेवेको हस्ताक्षर रहेको विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्र, बहुदलीय व्यवस्था र जनअधिकारको पक्षमा निरन्तर लड्दै आएको र आगामी दिनमा पनि त्यही मार्गमा अघि बढ्ने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »