काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा मार्क वाटको उत्कृष्ट शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित निकालेको छ।
वाटले शकक प्रहार गरेछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो।
उत्कृष्ट लयमा देखिएका वाटले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै नटआउट ११४ रन बनाए। विल बोसिस्टोले २० बलमा नटआउट २९ रन जोडे। उनले २ चौका र एक छक्का प्रहार गरे।
वाटले दशौं ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलविरूद्ध २६ रन प्रहार गरेका थिए। सो ओभरमा उनले चार छक्का र एक पटक दुई रन लिएका थिए।
वाटले यो सिजनको एनपिएनमा पहिलो शतक प्रहार गरेका हुन्। अघिल्लो सिजन पोखराका लागि आन्द्रेस गौसले लुम्बिनी लायन्स विरूद्ध नै १०४ रन प्रहार गरेका थिए।
एनपिएलमा वाट सर्वाधिक छिटो शतक पूरा गर्ने ब्याटर बने। उनले ४१ बलमै शतक पूरा गरे। अघिल्लो सिजन गौसले ५४ बलमा शतक प्रहार गरेका थिए।
साथै वाटले एनपिएलकै एकै इनिङग्समा सर्वाधिक छक्का (१२) प्रहार गर्ने कीर्तिमान पनि बनाए। यस्तै उनले एनपिएलको एकै इनिङग्समा सर्वाधिक रन (नटआउट ११४) पनि रेकर्ड राखे।
२९ वर्षीय वाट स्कटल्यान्डको राष्ट्रिय टोलीका खेलाडी हुन्। इडनवर्गमा जन्मिएका वाटले सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले स्कटल्यान्डको राष्ट्रिय टोलीबाट ८२ एकदिवसीय खेल र ७७ टी-२० खेल खेलेका छन्।








