सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रवणदृष्टिविहीन अपाङ्गताका सवालमा ललितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

शर्मिला विश्वकर्मा, ललितपुर /

नेपाल सरकारले वर्गीकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये श्रवणदृष्टिविहीन अपाङ्गता पनि एक हो । यस्तो प्रकारका अपाङ्गता भएका व्यक्तिहरु बोल्न, र सुन्न सक्दैनन् । जसको कारण अन्य अपाङ्गता भएका व्यक्तिहरूको तुलनामा श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको अवस्था निकै कठिन पूर्ण रहेको देखिन्छ । उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सेवा सुविधाबाट बञ्चित रहेका हुन्छन् । यसै सन्दर्भमा गत पुस १३ गते ललितपुरमा बहिरादृष्टि-विहीन अभिभावक समाज र राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त आयोजना तथा Sense international र NELUMBO STIFTUNG को सहकार्यमा श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्थाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा अटिजम केयर नेपाल समाजकी अध्यक्ष डा.सुनिता मलेकु अमात्यले अटिजम, बौद्धिक र श्रवणदृष्टिविहीन अपाङ्गता र विकासात्मक अपाङ्गता भएका व्यक्तिहरूको सञ्चारमा निकै चुनौती हुने भन्दै हामी सबैले उनीहरूका हरेक सवालमा वकालत तथा पैरवी गर्नु पर्ने बताउनु भयो । साथै उहाँले सरकारले श्रवणदृष्टिविहीन, बौद्धिक, अटिजम लगायतका अपाङ्गता भएका बालबालिकाहरूलाई सिकाउन सक्ने क्षमता राख्ने हो भने विश्वव्यापी शैक्षिक सिकाइमा अगाडि बढ्न सके मात्रै यस्ता अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पुग्न सक्ने कुरामा जोड दिनु भयो ।

यस अन्तरक्रिया कार्यक्रममा आयोजक संस्था बहिरादृष्टि-विहिन समाज नेपालका अध्यक्ष तथा अपाङ्गता राष्ट्रिय निर्देशक समितिका संस्थापक एवं निवर्तमान उपाध्यक्ष लाक्पा नुरु शेर्पाले सहभागी सबैलाई स्वागत गर्दै अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अन्य गैर संस्थाहरू सबै मिलेर श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका सवालमा वकालत तथा पैरवी गर्न सहज हुने छ भन्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

साथै उहाँले अन्य नागरिकहरूको तुलनामा श्रषणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूमा सञ्चारमा चुनौती हुने र जसको कारण शिक्षा, रोजगारी तथा अन्य सेवा सुविधामा पहुँच पुग्न नसकेको बताउनु भयो । यसै क्रममा उहाँले यो १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका सवालमा वकालत तथा पैरवी गर्नमा सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरू प्रतिको सामाजिक दृष्टिकोणको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसै प्रस्तुतीकरणका क्रममा उहाँले श्रवणदृष्टिविहिन अपाङ्गताको विषयमा जानकारी दिँदै उनीहरूका चुनौतीहरू, गाम्भिरताको आधारमा यसको प्रकार, श्रवणदृष्टिविहीनता हुने अवस्थाका आधारहरू, जन्मजात उनीहरूसँग जोडिएको चुनौती, जन्मजात वा भाषा विकास पछि उनीहरूका चुनौती, उनीहरूका लागि सञ्चालन गरिएको श्रोत कक्षा लगायतका विषयमा जानकारी गराउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष राम कार्कीले राज्य स्तरबाट श्रवणदृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरूको पहिचान नै नगरिएको र उनीहरूको लागि शिक्षाको सुरुवात नगरिएको भन्दै हामी सबैले अबका दिनमा पछाडि पारिएका श्रवणदृष्टिविहीन बालबालिकाहरू लगायत अन्य पूर्ण तथा अति असक्त अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा तथा अन्य सेवा सुविधाका विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सहकार्य गरेर काम गर्ने भन्दै सबै जिल्लामा शिक्षा, रोजगारी, सीपमूलक तथा आय-आर्जनका कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने कुरामा जोड दिनु भयो ।

पुस १३ गते ललितपुरमा बहिरादृष्टि-विहीन अभिभावक समाज र राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त आयोजना तथा Sense international र NELUMBO STIFTUNG को सहकार्यमा श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्थाका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा काठमाडौँ महानगरपालिका भित्र रहेको व्यावसायिक माध्यमिक विद्यालय तथा श्रवणदृष्टिविहीन बालबालिकाका लागि सञ्चालन गरिएको श्रोत केन्द्रका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाले काठमाडौँ महानगरपालिकामा रहेका ११ वटा पालिकाका समन्वय समितिमा रहेका व्यक्तिहरूलाई अपाङ्गताको प्रकार र विविधताक विषयमा जानकारी गराउन जरुरी रहेको, यी पालिकाहरूमा अपाङ्गता र विशेष गरी श्रवणदृष्टिविहीनता सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने बताउनु भयो ।

साथै उहाँले काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको तथ्याङ्क निकाल्ने क्रममा अपाङ्गता भएका विद्थार्थीहरुको सही तथ्याङ्क आउन नसकेको र आगामी दिनमा यस विषयमा सबैले काम गर्नु पर्ने र श्रवणदृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरूको शिक्षाको लागि राज्यको केन्द्र, स्थानीय निकायहरू सबैले प्राथमिकताका साथ काम गर्नको लागि सबै एक जुट भएर काम गर्नु पर्ने भनी पहल कदमी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यस अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्य स्तरबाट उनीहरू अनुकूलको वातावरण सृजना गरी शिक्षा प्रदान गर्न नसकेको भन्दै श्रवणदृष्टिविहीन, बौद्धिक, अटिजम र पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरू शिक्षा लिनबाट वञ्चित रहेको गुनासो गर्नु भयो ।

साथै उहाँले सबै प्रकारमा अपाङ्गता भएका व्यक्तिहरूले श्रवणदृष्टिविहीन अपाङ्गता तथा अन्य विकासात्मक अपाङ्गता भएका व्यक्तिहरूका सवालमा पनि वकालत तथा पैरवी गर्नु पर्ने, शिक्षा प्रणालीलाई श्रवणदृष्टिविहीनता तथा अपाङ्गताको विविधता अनुसारको मैत्री बनाइनु पर्ने, हरेक बालबालिकाहरूलाई समुदायमा नै पढ्न सक्ने वातावरण निर्माण गरिनु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी सचिव सृजना के.सी ले अपाङ्गता भएका नागरिकहरूले पनि मानव अधिकारको प्रत्याभूति गर्न पाउनु पर्ने तर मानव अधिकारका धारा तथा व्यवस्थाहरूले उनीहरूलाई नछोएको भन्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू, अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, सरोकारवाला निकायहरू र विशेष गरी स्थानीय निकायहरू सबै मिलेर उनीहरूको अधिकारका लागि वकालत तथा पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकर चौसरले श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि तयार पारिएको एप Global Resource Deaf blindness HUb का विषयमा प्रस्तुतीकरण गर्दै श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, सामाजिकीकरण, आय-आर्जन लगायतका उनीहरूका हरेक कार्यहरूमा सरोकारवाला निकायहरूले काम गर्नु पर्ने र यस विषयमा राज्य संवेदनशील हुनु पर्ने कुरामा जोड दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »