काठमाडौं । चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा त्रिशक्ति कला केन्द्रका कलाकारहरूले प्रस्तुत गरेको आकर्षक स्वागत नृत्यले समारोहलाई विशेष र स्मरणीय बनाएको थियो ।
कार्यक्रमको सुरुवातमै मञ्चमा उत्रिएका त्रिशक्ति कला केन्द्रका कलाकारहरूले नेपाली मौलिकता झल्काउने सांस्कृतिक नृत्य प्रस्तुत गर्दै अतिथि, कलाकार तथा दर्शकलाई भावुक र उत्साहित बनाएका थिए। परम्परागत पहिरन, तालबद्ध प्रस्तुति र समन्वयपूर्ण नृत्यले सभाहलको माहोललाई उत्सवमय बनाएको थियो ।
स्वागत नृत्यमार्फत नेपाली कला, संस्कृति र परम्पराको झल्को दिन सफल कलाकारहरूको प्रस्तुति उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरूले पनि यस्तो सांस्कृतिक प्रस्तुतिले कार्यक्रमको गरिमा अझ बढाएको प्रतिक्रिया दिएका थिए ।
त्रिशक्ति कला केन्द्रले लामो समयदेखि कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएको छ । यो कार्यक्रममा नृत्यमार्फत केन्द्रका कलाकारहरूले आफ्नो प्रतिभा, अनुशासन र समर्पणलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए ।
चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२ कार्यक्रममा विभिन्न विधाका कलाकारहरूको सम्मान तथा प्रस्तुति रहेको थियो भने त्रिशक्ति कला केन्द्रको स्वागत नृत्यले कार्यक्रमलाई थप आकर्षक, जीवन्त र सांस्कृतिक रूपमा समृद्ध बनाएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै आयोजकले त्रिशक्ति कला केन्द्रका प्रमुख प्रशिक्षक तथा प्रवन्ध निर्देशक दिपेश एस.के. लाई सम्मान समेत गरेको थियो ।
यो सम्मान र कार्यक्रममा आफ्नो प्रस्तुति दिँदा दर्शकबाट पाउने मायाले अझ उर्जा थपिने गरेको नृत्य निर्देशक दिपेश एस.के. बताएका छन् । आगामी कार्यक्रमहरुमा अझ उत्कृष्ट भएर आउने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।









