सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुद्ध जयन्तीमा मुले गाउँमा ऐतिहासिक शान्ति ¥याली — स्थानीयमा उत्साह, धार्मिक जागरणको नयाँ सन्देश

सिन्धुपाल्चोक । महामानव भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्तीको अवसरमा इन्द्रावती गाउँपालिका–४ स्थित मुले गाउँ आज शान्ति, श्रद्धा र उत्साहले झनै उज्यालिएको छ। पहिलो पटक आयोजना गरिएको भव्य शान्ति ¥यालीले गाउँलाई मात्रै होइन, आसपासका क्षेत्रलाई समेत आध्यात्मिक ऊर्जा र एकताको सन्देश दिएको छ।

मुले गाउँस्थित छोर्टेनबाट सुरु भएको ¥याली भेडीचौर र नवलपुर हुँदै पुनः सोही स्थानमा आइपुगेर समापन गरिएको थियो। धार्मिक भजन, शान्तिको सन्देश बोकेका नाराहरू र परम्परागत झाँकीसहित अघि बढेको ¥यालीले सडक नै जीवन्त बनेको दृश्य प्रस्तुत गरेको थियो।

¥यालीमा वडाध्यक्ष, लामा गुरु, पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीय बासिन्दाको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको आयोजकहरूले बताएका छन्।

कार्यक्रम संयोजक भोजबहादुर तामाङका अनुसार, विगत एक दशकदेखि मलेसियामा कर्मथलो बनाउँदै आएका उनले विदेशमा विभिन्न देशका समुदायहरूले भव्य रूपमा बुद्ध जयन्ती मनाएको देखेपछि आफ्नै गाउँमा पनि त्यस्तै परम्परा सुरु गर्ने सोचले यो पहल गरेका हुन्। “विदेशमा देखेको एकता र श्रद्धा आफ्नै गाउँमा उतार्ने चाहना थियो, जुन आज साकार भएको छ,” उनले बताए।

स्थानीयवासीका अनुसार, यस ¥यालीले गाउँमा धार्मिक चेतना मात्र होइन, आपसी सद्भाव र एकताको भावना पनि मजबुत बनाएको छ। पहिलो प्रयासमै उल्लेखनीय सफलता पाएको यो कार्यक्रम अब प्रत्येक वर्ष आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएका छन्।

यस कार्यक्रमले मुले गाउँलाई शान्ति र सहिष्णुताको केन्द्रका रूपमा चिनाउने विश्वास गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »