काठमाडौं । जुम्ला र डोल्पा — गत २५ चैतमा कडा मधुमेहका कारण स्वास्थ्य समस्या बल्झिएपछि जुम्लाको हिमा–६ का ७१ वर्षीय कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पतालमा भर्ना गरियो । त्यहाँ मधुमेह नियन्त्रण भएन । त्यसमाथि ‘प्रोस्टेट’ को समस्या बढेपछि शिक्षण अस्पतालले ‘युरो सर्जरी’ का लागि बाँकेको नेपालगन्ज रिफर गर्यो ।
जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे पनि उडान भएन । बिरामीको अवस्था जटिल बनेपछि हिमा गाउँपालिकाको एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निधो भयो । तर, उनीहरू नेपालगन्ज पुग्न पाएनन् । ०१००१ झ ००२४ नम्बरको उक्त एम्बुलेन्स कालीकोटको खाडाचक्र–२ मेयरखोलानजिक दुर्घटना हुँदा कुलबहादुरका छोरा ३२ वर्षीय भीमबहादुर र हिमा–७ मचीगाउँका एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो । बिरामी अधिकारी घाइते भए । ‘त्यस दिन प्लेन आएको भए मेरो उपचार सहज हुन्थ्यो,’ अधिकारीले भने, ‘अकालमै छोरा गुमाउनुपर्यो ।’
कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तर, तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् ।कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् । यस्तैमध्येकी एक हुन्, जुम्लाको चन्दननाथ–८ की २१ वर्षीया सवि कामी । मुटु, छाती र फोक्सोमा समस्या देखिएपछि उनी सोमबार प्रतिष्ठानको शिक्षण अस्पतालमा भर्ना भइन् । उनलाई अस्पतालले नेपालगन्ज रिफर गरेको छ । जहाजमै अक्सिजन लगाएर लैजान चिकित्सकले सल्लाह दिएका छन् । ‘बुधबार सेड्युल भए पनि जहाज आएन,’ उनका भाइ विनोदले भने, ‘मौसमको कारण भन्दै उडान नभएपछि शिक्षण अस्पतालमै फर्किनुपर्यो ।’








