सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ह्विलचियरदेखि सीपसम्मको साथ : अपाङ्गता भएका युवालाई आत्मनिर्भरताको नयाँ उडान

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै युवा अपाङ्ग संगठन–नेपाल (डायो) ले सञ्चालन गरेको बेसिक मोबाईल मर्मत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सीप, आत्मविश्वास र आत्मनिर्भरताको यात्रामा सहभागी बनेका प्रशिक्षार्थीहरूका लागि यो कार्यक्रम केवल तालिमको समापन मात्र नभई नयाँ जीवनयात्राको सुरुवात बनेको छ।

विगत १६ वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, उद्यमशीलता विकास, स्वावलम्बन अभिवृद्धि तथा समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालन गर्दै आएको संगठनले यसपटक पनि समाजमा उदाहरणीय कार्य प्रस्तुत गरेको छ। संस्थाले निरन्तर रूपमा अपाङ्गता न्यूनीकरण, हक–अधिकारको पैरवी तथा अवसर सिर्जनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

चैत १८ गतेदेखि जेठ ८ गतेसम्म गोकर्णेश्वर नगरपालिका–६, जोरपाटी मा सञ्चालन भएको बेसिक मोबाईल मर्मत तालिमले सहभागीहरूलाई स्वरोजगार तथा व्यवसायिक जीवनतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरिएको छ। आज आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै मुक्तिनाथ विकास बैंकको सहयोगमा १२ थान ह्विलचियर वितरण गरिएको थियो।

ह्विलचियर वितरणसँगै कार्यक्रममा भावुक क्षण समेत देखिएको थियो। दैनिक जीवनमा सहज आवतजावत गर्न कठिनाइ भोगिरहेका लाभग्राहीहरूले नयाँ ह्विलचियर पाएपछि खुशी व्यक्त गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूले यस्ता सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने धारणा राखेका थिए।

समापन कार्यक्रम युवा अपाङ्ग संगठन–नेपालका अध्यक्ष प्रकाश श्रेष्ठ को सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ६ का अध्यक्ष नवराज लामा, व्यवसायी तथा समाजसेवी मधु क्षेत्री, अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष उदयबहादुर लिम्बु, समाजसेवी शम्भुप्रसाद अधिकारी, मुक्तिनाथ विकास बैंक बौद्ध शाखाका प्रबन्धक अर्जुन श्रेष्ठ तथा बैंकको केन्द्रीय कार्यालयका प्रतिनिधि नम्रता गौतम लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा जोड्न सीपमूलक तालिम, रोजगार र उद्यमशीलताको अवसर विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले राज्य, निजी क्षेत्र र सामाजिक संस्थाहरूबीचको सहकार्यले मात्र समावेशी समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरे।

उक्त तालिम बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा गोकर्णेश्वर नगरपालिकाको समन्वय मा सञ्चालन गरिएको थियो। सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अपाङ्गता भएका व्यक्तिहरूलाई परनिर्भर होइन, सक्षम र उत्पादनशील नागरिकका रूपमा स्थापित गर्ने अभियानमा युवा अपाङ्ग संगठन–नेपालले गरेको यो प्रयास धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। समाजले अवसर दिएमा क्षमता आफैं बोल्छ भन्ने सन्देश यो कार्यक्रमले पुनः एकपटक स्पष्ट पारेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »