काठमाडौं । “संस्कार, संस्कृति, सभ्यता र सम्पदाको संरक्षण गरौँ” भन्ने सशक्त नारालाई आत्मसात गर्दै १९औं गणतन्त्र दिवसको अवसरमा चाँदनीचोक ढुङ्गे धारा संरक्षण समितिले विशेष स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम–२०८३ आयोजना गर्ने भएको छ। सामाजिक उत्तरदायित्व, जनस्वास्थ्यप्रति जागरण तथा मानवीय सेवाको भावनालाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीयवासीमा उत्साह थपेको छ।
समिति द्वारा आयोजित उक्त कार्यक्रम २०८३ साल जेठ १५ गते शुक्रबार बिहान ८ः०० बजेदेखि चाँदनीचोक ढुङ्गे धारा परिसर, चुच्चेपाटी–६, बौद्धमा सञ्चालन हुनेछ। कार्यक्रममा स्तूप सामुदायिक अस्पताल, चुच्चेपाटी–६, बौद्धको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ।
कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ। शिविरमा सुगर, प्रेसर, थाइराइड, आँखा, दाँत, नाक, कान, घाँटी, बालरोग तथा सामान्य स्वास्थ्य जाँच गरिनुका साथै आवश्यक परामर्श र निःशुल्क औषधि वितरणसमेत गरिने व्यवस्था गरिएको छ। विशेषज्ञ चिकित्सकहरूको सहभागितामा हुने यस शिविरबाट सयौं स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
त्यस्तै, कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षणका रूपमा बृहत् रक्तदान कार्यक्रम पनि रहनेछ। “रक्तदान गरौँ, पुण्य कमाऔँ” र “रक्तदान जीवनदान हो” भन्ने मानवीय भावनासहित आयोजना गरिएको रक्तदान कार्यक्रमले अस्पतालहरूमा देखिने रगत अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। आयोजक समितिले स्वस्थ व्यक्तिहरूलाई रक्तदानमा सहभागी भई जीवन बचाउने अभियानमा साथ दिन आग्रह गरेको छ।
समाजसेवा, जनचेतना र स्वास्थ्य सुरक्षालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमलाई स्थानीयवासी, समाजसेवी, युवाहरू तथा विभिन्न संघसंस्थाहरूले सकारात्मक रूपमा लिएका छन्। पछिल्लो समय समुदायस्तरमा यस्ता स्वास्थ्य तथा मानवीय कार्यक्रमहरू कम हुँदै गएको अवस्थामा चाँदनीचोक ढुङ्गे धारा संरक्षण समितिको पहललाई उदाहरणीय कार्यका रूपमा हेरिएको छ।
आयोजकले सम्पूर्ण स्थानीय बासिन्दा, युवापुस्ता, सामाजिक अभियन्ता तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ। “स्वच्छ नेपाल, स्वस्थ नेपाली” को राष्ट्रिय अभियानलाई सफल बनाउन र समाजमा सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।








