राजन थापा
गोरखा / दुर्गम गाउँका नागरिकले सामान्य दाँतको उपचारका लागि पनि लामो दूरी तय गर्नुपर्ने बाध्यता अब विस्तारै अन्त्य हुने संकेत देखिएको छ। गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित थलाजुङ स्वास्थ्य चौकीमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुनुका साथै थलाजुङ डेन्टल क्याबिन को औपचारिक उद्घाटन भएपछि स्थानीयवासीमा नयाँ आशा, नयाँ भरोसा र नयाँ मुस्कान थपिएको छ। अब सामान्य दन्त समस्याका लागि जिल्ला सदरमुकाम वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।
सिरानचोक गाउँपालिकाको आयोजना तथा ॐ समाज डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने शिविरमा निःशुल्क दन्त परीक्षण, परामर्श, दाँत सफा, दाँत भर्ने, दाँत निकाल्ने तथा एक्स–रे सेवा प्रदान गरिएको थियो। कार्यक्रम वडा नं. २ का अध्यक्ष तथा थलाजुङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष खुशीमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले ग्रामीण क्षेत्रमा गुणस्तरीय र स्थायी दन्त स्वास्थ्य सेवा विस्तार गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताउँदै स्वास्थ्यभन्दा ठूलो विकास अर्को हुन नसक्ने उल्लेख गर्नुभयो। उहाँले गाउँमै दन्त सेवा सञ्चालन हुनु यहाँका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको र यसले दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिका–२ की प्राविधिक तथा वडा सचिवको जिम्मेवारी सम्हालिरहनुभएकी रीता थापा, MUTU Foundation Nepal का अध्यक्ष धनबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्याल, स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठ, थलाजुङ स्वास्थ्य चौकी प्रमुख नवराज श्रेष्ठ, ॐ समाज डेण्टल हस्पिटलका बोर्ड सदस्य, सामाजिक अभियन्ता एवं पत्रकार राजन थापा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
MUTU Foundation Nepal का अध्यक्ष धनबहादुर गुरुङले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै दुर्गम बस्तीका नागरिकसम्म गुणस्तरीय सेवा पुर्याउनु नै संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले लाभग्राहीहरूको मुस्कान नै आफ्नो सबैभन्दा ठूलो पुरस्कार भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। वडा सचिव रीता थापाले गाउँमै स्थायी दन्त सेवा सुरु हुनु स्थानीयका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले स्थानीय सरकार, स्वास्थ्य संस्था र अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यले ग्रामीण स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण स्थापित गरेको बताउनुभयो। सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले दुर्गम बस्तीका नागरिकको अनुहारमा मुस्कान फर्किएको देख्नु नै आफ्नो सामाजिक अभियानको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै सेवा र मानवताको यात्रालाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख नवराज श्रेष्ठले भन्नुभयो, “निःशुल्क स्वास्थ्य शिविरले नागरिकमा स्वास्थ्यप्रति विश्वास र आशा जगाएको छ। यस अभियानमा समर्पित सम्पूर्ण स्वास्थ्यकर्मी, आयोजक र सहयोगीप्रति हार्दिक धन्यवाद। यस्ता सेवामूलक कार्यक्रम निरन्तर अघि बढून् भन्ने शुभकामना व्यक्त गर्दछु।” शिविरको दुई दिनमा २९४ जना नागरिकले सेवा लिएका थिए। तीमध्ये ११९ जनाको दाँत सफा, ७६ जनाको दाँत भरिएको, ६४ जनाको दाँत निकालिएको तथा ४२ जनाको दन्त एक्स–रे गरिएको थियो। साथै श्री महिपते माध्यमिक विद्यालय र श्री आहाल भञ्ज्याङ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि निःशुल्क दन्त परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
विद्यालयका विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिताले समुदायमा दन्त स्वास्थ्यप्रतिको चेतना बढ्दै गएको देखिएको छ। शिविरको सबैभन्दा भावुक क्षण ८२ वर्षीय वीरबहादुर सार्कीको सफल उपचार रह्यो। उहाँको अत्यन्त जटिल दाँत निकाल्न चिकित्सकहरूको टोलीले करिब २ घण्टा ३५ मिनेट निरन्तर मेहनत गरेको थियो। ॐ समाज डेण्टल हस्पिटलका डा. ममता भुजेल, डा. दीक्षा चौधरी, डा. सीमा यादव तथा सहायक जुनु पण्डित र अमिशा लावतीको संयुक्त प्रयासबाट उक्त उपचार सफल भएको थियो।
टोलीका अनुसार यति लामो समय लगाएर गरिएको यो उपचार उनीहरूको सेवायात्राकै पहिलो अनुभव थियो। वर्षौंदेखिको असह्य पीडाबाट मुक्त भएपछि वीरबहादुर सार्कीको अनुहारमा देखिएको मुस्कानले उपस्थित सबैलाई भावुक बनाएको थियो। यस परियोजनालाई सफल बनाउन MUTU Foundation Nepal, Manoj Association (France) तथा SHERPAE Marseille (France) को महत्वपूर्ण सहयोग रहेको थियो।
साथै फ्रान्सका Marie Rolland, Clara Roche-Poggi, Esteban Rigaud, Victor Lelievre, Paul Joana र Lou-Neige Champigny लगायत अन्तर्राष्ट्रिय सहयोगीहरूको आर्थिक तथा मानवीय सहयोगले अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
स्थानीयवासीका अनुसार गाउँमै स्थायी दन्त सेवा सुरु हुनु केवल एउटा स्वास्थ्य सेवा थपिनु मात्र होइन, ग्रामीण स्वास्थ्य क्षेत्रमा आशा, आत्मविश्वास र उज्यालो भविष्यको आधार निर्माण हुनु हो। “सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस अभियानले “स्वस्थ मुस्कान, स्वस्थ समाज” भन्ने उद्देश्यलाई व्यवहारमै उतारेको छ।
थलाजुङका नागरिकको अनुहारमा फर्किएको मुस्कानले मानवता, सेवा र सहकार्यको यो यात्रा आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास दिलाएको छ।








