काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउने खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन्। काठमाडौँ महानगरपालिका वडा नं. १६ स्थित बालाजु कराते क्लबको आयोजनामा एक विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा ११औँ राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने मलेसियामा हालै सम्पन्न २५औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गरी नेपालको शिर उच्च बनाउने पदक विजेता नेपाली खेलाडी तथा टोली प्रशिक्षकलाई विशेष सम्मानपत्रद्वारा सम्मानित गरियो।
कार्यक्रमको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा नेपाली कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १ मात्र स्वर्ण पदक प्राप्त गर्ने बालाजु कराते क्लबका होम गूरुङ लाई बिशेष सम्मान गरिएको थियो । साथै नेपाल बाट मलेसिया जाने टोलिको टिम कोचको भुमिका निर्वाह गर्ने कृष्ण बहादुर बि.क.लाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै काठमाडौँ महानगरपालिका वडा नं. १६ की वडा अध्यक्ष रोजिना श्रेष्ठले खेलकुद क्षेत्रको महत्वमाथि प्रकाश पारिन्। उनले खेलकुदले अनुशासन, आत्मविश्वास र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले खेलाडीहरूलाई थप ऊर्जा र देशका लागि केही गर्ने प्रेरणा मिल्ने बताइन्। स्थानीय तहबाट खेलकुद र खेलाडीको स्तरोन्नतिका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।
विशेष अतिथि जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले विद्यालय तहदेखि नै खेलकुदको जग बलियो बनाउनुपर्नेमा जोड दिँदै यसका लागि सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा बोल्ने अन्य विशिष्ट वक्ताहरूले नेपाली करातेको विकास र विस्तारमा यो सम्मानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले राज्य र निजी क्षेत्र दुवैबाट खेलकुदमा लगानी बढाउनुपर्ने र खेलाडी पलायन हुने अवस्थाको अन्त्यका लागि प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
यसरी शुभकामना तथा ऐक्यबद्धता मन्तव्य राख्नेहरूमा युवा व्यवसायी अर्जुन गिरी, लाइभ नेपाल नेटवर्कका सञ्चालक पुष्कराज पाण्डे, जापान गोजुरियो कराते संघका केन्द्रीय अध्यक्ष बिदुर कुँवर, टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष रामेश्वर रेग्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव बल्लभ पन्त, श्रीकृष्ण डंगोल कराते संस्थाका अध्यक्ष, टोल सुधार समितिकी सदस्य कमला काफ्ले, सल्लाहकार राजन बोहोरा, कमल काफ्ले, सदस्य कमला पौडेल, तेजबहादुर खनाल, तथा समाजसेवी एवं व्यवसायी नील गुरुङ लगायत हुनुहुन्थ्यो।
समारोहमा कराते खेलसँग आबद्ध वरिष्ठ प्रशिक्षकहरू, उदियमान खेलाडी, अभिभावक, खेलप्रेमी, पत्रकार, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त विशेष समारोहको प्रभावकारी सहजीकरण (उद्घोषण) पत्रकार तथा समाजसेवी सावित्री बस्नेत (सबु) ले गरेकी थिइन्। उनको चुस्त र आकर्षक सञ्चालनले कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाएको उपस्थित सहभागीहरूले बताए।
कार्यक्रमको सभापतित्व बालाजु कराते क्लब, काठमाडौँका सभापति सुरेन्द्र प्रसाद घिमिरेले गरेका थिए। कार्यक्रमको समापन गर्दै सभापति घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली झण्डा फहराउने खेलाडीहरूको सम्मान गर्न पाउनु क्लबका लागि ऐतिहासिक गौरवको विषय भएको बताए।
उनले आगामी दिनमा पनि कराते खेलको जगैदेखि विकास गर्न, नयाँ प्रतिभाको पहिचान गर्न र खेलाडीहरूको हौसला अभिवृद्धिका लागि यस्ता रचनात्मक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे।









