राजन थापा
काठमाडौं / कला, संस्कृति, सञ्चार, स्वास्थ्य, शिक्षा, समाजसेवा, पर्यटन, व्यवसाय तथा विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याएका ५० जना विशिष्ट व्यक्तित्वलाई एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले राष्ट्रिय व्यक्तित्व सम्मान–२०८३ अन्तर्गत सम्मान गरेको छ।
संस्थाको १४औँ स्थापना दिवस तथा नेपालीहरूको मौलिक पर्व खीर खाने दिनको अवसरमा चलचित्र विकास बोर्ड, चाबहिल, काठमाडौंमा आयोजित ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३’ सभ्य र भव्य रूपमा सम्पन्न भएको हो।
लोकप्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे) को सभापतित्वमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका सयौँ विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस वर्षदेखि सुरु गरिएको ‘दीर्घ साधना सम्मान पुरस्कार’ अन्तर्गत निरन्तर कलाकारितामा सक्रिय विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी) लाई रु. ३३ हजार ३३३ नगदसहित सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा चलचित्र, पत्रकारिता, स्वास्थ्य, शिक्षा, साहित्य, संगीत, कृषि, व्यवसाय, समाजसेवा, महिला सशक्तीकरण लगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई दशक सम्मान, विशेष सम्मान तथा प्रोत्साहन सम्मान प्रदान गरिएको थियो।
सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। महिला नौमती बाजा समूह, गायक तथा संगीतकार कृष्ण भट्टराई, एन.के. डान्स एण्ड फिल्म प्रोडक्सन तथा महान सिद्धार्थ हाई स्कुलका विद्यार्थीहरूको प्रस्तुतिले दर्शकको मन जितेको थियो। कार्यक्रम लाइफ ओके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
चलचित्र विकास बोर्ड, विभिन्न बैंक तथा अस्पताल, शैक्षिक संस्था, सञ्चारमाध्यम र निजी क्षेत्रका दर्जनौँ संघ–संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रमले नेपाली कला, संस्कृति र स्रष्टाहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ।








