सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकहजार भन्दा बढी महिलालाई आत्मनिर्भर बनाएकी कमला अधिकारी न्यौपाने सम्मानित

– राजन थापा

काठमाडौं । समाजसेवा, महिला सशक्तीकरण र बीमा क्षेत्रलाई एकसाथ अघि बढाउँदै आएकी कमला अधिकारी न्यौपाने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिष्ठित ‘डायमण्ड क्लब क्वालिफायर’ सम्मानबाट सम्मानित भएकी छन्।

कम्पनीले उत्कृष्ट व्यवसायिक उपलब्धि, सेवाप्रतिको समर्पण तथा उल्लेखनीय कार्यसम्पादनको कदर गर्दै उनलाई प्रमाणपत्र, ट्रफी तथा विशेष उपहारसहित सम्मान गरेको हो।

बीमा व्यवसायमा सफल पहिचान बनाएकी न्यौपाने सामाजिक उत्तरदायित्वलाई उत्तिकै महत्व दिने व्यक्तित्वका रूपमा परिचित छिन्। उनले हालसम्म १,००० भन्दा बढी महिलालाई सीटीईभीटी (CTEVT) अन्तर्गत सीपमूलक तालिममा सहभागी गराई आत्मनिर्भर बन्न सहयोग गरेको बताइन्।

तालिम प्राप्त महिलामध्ये धेरैले आफ्नै व्यवसाय सञ्चालन गर्दै तथा विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गरी आर्थिक रूपमा सक्षम जीवनयापन गरिरहेका छन्। सम्मान ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले भनिन्, “म एक महिला हुँ, त्यसैले महिलाले चाहे असम्भव भन्ने केही हुँदैन भन्ने सन्देश दिन चाहन्छु। अवसर, सीप र आत्मविश्वास भए महिलाले आफ्नो मात्र होइन, परिवार, समाज र राष्ट्रको भविष्य पनि बदल्न सक्छन्।”

उनले समाजसेवाको नाममा देखावटी गतिविधिभन्दा परिणाममुखी काम आवश्यक रहेको धारणा राख्दै भनिन्, “विभिन्न संघसंस्थामा आबद्ध हुनु मात्र समाजसेवा होइन। समाजका मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम नै वास्तविक समाजसेवा हो। फोटो खिचाउने वा प्रचारका लागि होइन, सेवाभावले काम गर्नुपर्छ।”

न्यौपानेका अनुसार महिलालाई आत्मनिर्भर बनाउने अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ। उनी सीप, शिक्षा र आर्थिक सशक्तीकरणलाई महिलाको समुन्नतिको मुख्य आधार मान्दै अझ धेरै महिलालाई अवसरसँग जोड्ने लक्ष्यमा रहेको बताउँछिन्।

सामाजिक उत्तरदायित्व र व्यावसायिक सफलतालाई सँगसँगै अघि बढाउँदै आएकी कमला अधिकारी न्यौपानेको योगदानलाई महिला सशक्तीकरणको क्षेत्रमा प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »