युरोपमा मानिसमाथि पहिलो पटक अक्सफोर्डमा कोरोनाको खोप परीक्षण सुरु गरिएको छ। ८ सय स्वयंसेवी मध्येका दुई स्वयंसेवीहरूबाट यसको परीक्षण सुरु गरिएको बिबिसीले जनाएको छ।
यस मध्य आधा मानिसलाई कोरोना भाइरसको खोप लगाइने छ भने आधालाई कोरोनाको नभई मेनिन्जाइटिस् विरुद्धको खोप लगाइनेछ। यसरी खोप लगाइएका मानिसलाई आफुले कुन खोप लगाएको भन्ने थाहा हुनेछैन। यद्यपि डाक्टरहरूले भने यसको रेकर्ड राख्नेछन्।
‘म एक वैज्ञानिक हुँ। जसरी हुन्छ म अरु वैज्ञानिक प्रक्रियालाई सहयोग गर्न चाहन्थें’, कोरोना भाइरस खोप परिक्षणका लागि लगाएका दुई जनामध्ये एक एलिसा ग्रानाटोले भनिन्।
झन्डै तीन महिनाको अध्ययन पछि अक्सफोर्ड विश्वविद्यालयको टोलीले यो खोप विकास गरेको हो। जेनर इन्स्टिच्युटमा भ्याक्सिनोलजीका प्राध्यापक सारा गिलबर्टले यस सम्बन्धी प्रि-क्लिनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन्। ‘व्यक्तिगत रुपमा मालाई यो खोपमाथि ठूलो विश्वास छ’, उनले भनिन्।
उनले आमप्रयो अघि यसले साँच्चै काम गर्छ भनेर देखाउनुपर्ने बताएकी छन्। ‘निश्चय पनि हामीले यसको परीक्षण गर्नुपर्छ र मानिसहरूबाट यसको तथ्यांक निकाल्नुपर्छ। आम जनसंख्यामा यसको प्रयोग गर्नु अघि हामीले यसले साँच्चिकै काम गर्छ भनेर देखाउनुपर्छ र मानिसहरूलाई कोरोनाको संक्रमणबाट बचाउनुपर्छ’, उनले भनिन् ,बीबीसीमा लेखिएको छ।








