सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाईरस विरुद्ध नागरिक अभियानले थाल्यो श्रमसहितको भोजन

कोरोना भाईरस covid-19 को महामारीले विश्व जनमानसमा त्रास पैदा गरिरहेको अवस्थामा नेपालको पछिल्लो संक्रमणको तथ्यांकको बढ्दो ग्राफले स्थितिलाई अझ भयावह स्थितिमा पुर्याउने हो कि भन्ने त्रास नेपाली समाजमा देखा परेको छ।

आजसम्मको अन्तिम संख्या २०८ जनामा कोरोना संक्रमण पुष्टि हुनुले दिनानुदिन थपिँदै गएको कोरोनाको संक्रमणको स्पिडले अझ तिव्रता लिने संकेत गरेको देखिन्छ।

यस्तो विषम परिस्थितिमा पनि का.म.पा-१६ बालाजु गंगाहल आसपासका नागरिक समाज, विभिन्न सामाजिक कार्यमा अग्रसर संघसंस्था तथा सहयोगी मनहरुको पहलमा २०७७ बैशाख १८ गतेदेखि नि:शुल्क खाना व्यवस्थापनको कार्य हुँदै आएको छ।

कोरोना भाईरस covid-19 विरुद्ध नागरिक अभियान नाम दिईएको यस कार्यक्रमको व्यवस्थापनको मुख्य जिम्मेवारी यसै वडाको कृयाशिल संस्था प्रगतिशील नागरिक मञ्चले लिएको छ। महत्वपूर्ण व्यवस्थापनको सहयोगी भूमिकामा ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं पश्चिम क्षेत्र, शान्तिनगर टोल बिकास समाज, चक्रपथ सरसफाई महाअभियान रहेको यस अभियानका संयोजक रविन्द्र कुमार श्रेष्ठले बताएका छन्।

नेपाल सुनचाँदी तथा शिल्पी व्यवसायी संघले सहयोगी दाताको मुख्य भूमिका निर्वाह गरी रहेको यस अभियानमा ग्रिनसिटि अस्पतालले आवश्यक स्यानिटाइजर, माक्स र पञ्जाको सहयोग गर्दै आएको छ। कालिमाटी तरकारी बजार अन्तर्गत माछापोखरी तरकारी बजार पसल नं ५ का समाजसेवी व्यवसायी राजकुमार भण्डारीले निरन्तर आवश्यक तरकारी सहयोग गर्दै आएकोमा अभियानका व्यवस्थापक बिकासबाबु श्रेष्ठले यसै मार्फत आभार प्रकट गरेका छन् ।

यसै गरि संस्थागत सहयोग गर्नेहरुमा उत्तम खानेपानी, यती ईभेन्ट्स्, स्वस्तिका डिजिटल प्रा.लि., उपत्यका श्रोत तथा ट्याङ्कर व्यवसायी संघ-बालाजु क्षेत्र, सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, बालाजु योग शिविर, सहारा नेपाल सुधार केन्द्र, अधिकारी ड्राइभिङ सेन्टर, ऋत एकेडेमी, बालाजु पोल्ट्री ईक्युप्मेन्ट्स् लगायतका रहेको कुरा यस अभियानका व्यवस्थापक सैलेश ठकुरी, डि.बि. पराजुली, सुरेसानन्द वैद्य, दिवश भट्टराई लगायतको टोलीले जनाएको छ।

हरेक बिहान सबेरै उठेर निस्वार्थ भावले सेवामा खटिँदै आएका सम्पूर्ण जुझारु स्वयंसेवी साथिहरुलाई विशेष धन्यवाद दिँदै सबैबाट आगामी दिनमा पनि सहयोग आउनेमा स्वयंसेवी व्यवस्थापक अमित राना ढुक्क छन्। निरन्तर रुपमा चलिरहेको यस अभियानले आगामी दिनमा अभियानको स्वरुप परिवर्तन गर्ने निर्णय गर्दै “श्रमसहितको भोजन” भन्ने नारामा बहस चलाउन थालेको तथा वातावरणीय प्रदुषण न्यूनिकरणको लागि आम जनसमुदायलाई जोड्न खाना खाने सेवा प्राप्त गर्ने सेवाग्राहीले बाटोमा फालिएका प्लास्टिकका खोल, प्लास्टिकका बोतल लगायतका १० प्लास्टिकजन्य पदार्थ संकलन गरि ल्याउनु पर्ने आयोजक पक्षले अपील गरेको छ।

आजको श्रमसहितको भोजन कार्यक्रममा उपस्थित ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, प्रथम उपाध्यक्ष ठुलो बाबू श्रेष्ठ लगायतका व्यवसायीहरुले हालको परिवेशमा यस्तो अभियान उदाहरणनीय रहेको भन्दै सम्पूर्ण व्यवसायीको तर्फबाट अभियानलाई सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्।

भोको पेट भर्ने नागरिक अभियानसँग जोडिएर भान्छा व्यवस्थापकको रुपमा दैनिक सयौंलाई खाना खुवाउन सेवा गर्न पाएकोमा देवेन्द्र मानन्धर र च्याङ्ग्बा लामाले खुशी व्यक्त गरे। त्यस्तै, अभियानमा खाद्यान्न ढुवानीका लागि सवारी सेवा दिएर सरोज पौडेलले चालक व्यवस्थापनमा बलियो भूमिका निर्वाह गर्दै आएका छन्। बालाजुका स्थानीय महिलाहरुले आफू सुरक्षित रही अभियानमा महत्वपूर्ण सेवा प्रदान गरी महिलाहरु पनि कुनै कुरामा पछि नरहेको र पछि पर्न नहुने सन्देश दिएका छन्।

सामाजिक अभियन्ता, समाजसेवी, बुद्धिजीवी, पत्रकारहरुको व्यापक नैतिक समर्थन रहेको यस अभियानको व्यवस्थापकिय पक्ष सबल र चुस्तदुरुस्त रहेको, खाना मिठो, सफा र हाईजेनिक रहेको कुरा खानाको सेवा लिई रहेका धेरै सेवाग्राहीहरुले बताएका छन्।

शून्य अवस्थाबाट शुरु गरिएको यस अभियानको समापन भने भव्य रुपमा गर्ने तयारी रहेको छ। यस अभियानको समापनमा सम्पूर्ण सहयोगी हातहरुको सहयोग विवरण सार्वजनिक गर्दै पारदर्शी ढंगबाट आयव्यय विवरण सहित वृहत् रक्तदान कार्यक्रम समेत गरिने यस अभियानका एक व्यवस्थापक भूपू कर्णेल गोविन्द सिंखडा बताउँछन्।

आजको केही झलक भिडियोमा ।

https://www.facebook.com/pragatisheelnagarikmunch/videos/3098798096830504/

भर्खरै

सम्बन्धित खबर

Language »