सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विप्लव माओवादीकाे ठाउँ-ठाउँमा बम विस्फाेट,

बुधबार प्रहरीको विशेष ब्युरोले सूचना पायो– ठूलो योजनासहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका लडाकु काठमाडौं छिरेका छन्।

काठमाडौँ छिरेका भनिएका लडाकुको फोटोसमेत प्रहरीसँग आइपुगेको थियो। तर, ब्युरोले प्राप्त सूचनाको विश्लेषण गर्दागर्दै राजधानीको सानो भर्‍याङमा बम विस्फोट भयो।

प्रहरीका अनुसार नार्गाजुन नगरपालिका–१ नर्सरी चोकस्थित शोभाकान्त ढकालको घरको मूलगेटमा ८ बजेर १० मिनेटमा बम विस्फोट भएको थियो। टाइमरसहितको शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको थियो। विस्फोटबाट घरको मुलगेट पुरै भत्किएको छ। बमका छर्राले रोकिराखेको कार र घरका झ्याल पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

सेना, सशस्त्र र प्रहरीको टोलीले ढकालको घरमा भएको विस्फोटको अनुसन्धान गरिरहेका बेला बालुवाटारस्थित विवादित र सरकारले अनुसन्धान गरिरहेको ललितानिवासको जग्गामा विस्फोटक पदार्थले भरिएको अर्को प्रेसर कुकर बरामद भयो।

यी दुवै घटना एउटै समूहले गराएको प्रहरीको प्रारम्भिक अनुमान छ। विप्लव समूहले विस्फोटलगत्तै ठाउँठाउँमा छरेका पर्चामा ढकालमाथि कारबाही गरेको दाबी गरिएको थियो। यस्तै, ललितानिवासको जग्गा कब्जा गर्न बम राखिएको पनि पर्चामा जनाइएको थियो।

सुरक्षाका हिसाबले अति संवेदनशील मानिने बालुवाटार क्षेत्रमै विप्लवका लडाकु बम बोकेर प्रवेश गर्न सफल भएपछि सुरक्षा चिन्ता बढ्नुका साथै सुरक्षा र गुप्तचरी संयन्त्रहरुको आलोचना पनि सुरु भएको छ।

कमजोर गुप्तचर निकाय

केन्द्रीय समिति बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवामाथि आक्रमण गर्ने (सेबोटेज) को निर्णय गरेको विप्लव समूहले प्रधानमन्त्री निवास नजिकसम्म पुगेर बम राख्दा पनि रोक्न नसकेपछि सुरक्षा तथा गुप्तचर संयन्त्रको आलोचना हुन थालेको हो।

प्रहरीले विप्लव समूहका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गर्दा बरामद डायरीमा प्रधानमन्त्री ओली लगायतलाई सेबोटेज गर्ने बिषयमा केन्द्रीय समितिमा छलफल भएको उल्लेख थियो। डायरीमा उच्च तहका नेताको हत्यासम्मको विषय रहेको खुलासासँगै सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर सो समूहविरुद्धको कारवाहीलाई तीव्रता दिएको थियो।

२०७५ को असार र साउनको पहिलो साता भूमिगत स्थानमा भएका विप्लव समूहका केन्द्रीय कमाण्ड बैठकमा मुख्य कारबाहीको सूची तयार पारिएको थियो। पछिल्लो समय मंसिरमा धनुषा र बुधबार काठमाडौंमा भएको घटना डायरीमा उल्लेख भएअनुसार नै भइरहेका हुन्।

बुधबार राति विस्फोटक पदार्थ बरामद भएसँगै नेपालको गुप्तचरी संयन्त्रले राम्ररी काम गर्न नसकेको आरोप पनि लागेको छ।

सेना, सशस्त्र, प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले चौबीसै घण्टा निगरानीमा राख्ने देशका प्रधानमन्त्रीको सरकारी निवास नजिकै बम फेला पर्नु सुरक्षा विफलता हो।

यस्तो छ बालुवाटार क्षेत्रको सुरक्षा प्रबन्ध

बालुवाटारलाई सुरक्षाका दृष्टिकोणले ‘क’ श्रेणीमा राखिएको छ। देशका कार्यकारी प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको सरकारी निवास सहित नेपाल राष्ट्र बैंक, चिनियाँ दूतावास र रुसी दूतावास समेत रहेकाले यो क्षेत्रमा विशेष सुरक्षा प्रबन्ध गरिएको छ।

बालुवाटार क्षेत्रको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको हो। बाहिरी भागको आधा हिस्सा प्रहरी वृत्त महाराजगञ्ज र आधा प्रहरी वृत्त कमलपोखरीले हेर्छ। यस्तै यो क्षेत्रको बाहिरी घेरामा दरबारमार्ग वृत्तले पनि सुरक्षाको जिम्मेवारी पाएको छ।

यी तीनै वृत्त बालुवाटार प्रवेश गर्ने मुख्य द्वारमा रहेकाले उनीहरुले नियमित गस्ती र विशेष निगरानीको जिम्मेवारी पाएका छन्।

यसबाहेक प्रहरी प्रधान कार्यालय मातहत रहेको विशेष ब्युरो, महानगरीय प्रहरीको इन्टिलिजेन्स शाखा, महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीले समेत यस क्षेत्रका गतिविधिमा विशेष निगरानी राखिरहेका हुन्छन्।

प्रहरी जस्तै शसस्त्र प्रहरी बल मुख्यालयको इन्टिलिजेन्स र उपत्यका पृतनाले समेत जिम्मेवारी तोकेरै यस क्षेत्रमा निगरानी र सुरक्षा गस्ती गरिरहेको हुन्छ। सशस्त्रले चौबीसै घण्टा आलोपालो गरेर यस क्षेत्रमा पैदल गस्ती खटाउँछ।

प्रहरीले बालुवाटार क्षेत्रको प्रवेशद्वार मानिने महाराजगञ्ज, लाजिम्पाट, कमलपोखरी र ज्ञानेश्वर प्वाइन्टमा सीआरभी भ्यान राखेको छ।

यस्तै सेनाको डिर्पाटमेन्ट अफ मिलिट्री इन्टिलिजेन्सबाट सादा पोशाकका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागले बालुवाटार हेर्ने बेग्लै युनिटलाई यस क्षेत्रको सुरक्षामा खटाएको छ।

यति बाक्लो र मजबुत मानिएको क्षेत्रमा विप्लव समूहले बम राख्नु समान्य नभएको सुरक्षा अधिकारीहरुको विश्लेषण छ।

‘केही पूर्व लडाकु काठमाडौं प्रवेश गरेका छन् भन्ने सूचना आएको थियो,’ एकजना वरिष्ठ प्रहरी अधिकृतले भने ‘उनीहरुलाई ‘ट्रयाक’ गरिनसक्दै दुवै घटना भए।’ ती अधिकारीका अनुसार माघ महिनामा काठमाडौं लक्षित केही घटना हुनसक्ने अनुमान सुरक्षा निकायले गरेका थिए। तर सम्भावित समयअघि नै विप्लव समूहले बम विस्फोट गराएको छ।

मुख्य नेता पक्राउपछि तेस्रो बरियताका लडाकू फिल्डमा

पछिल्लो समय एकपछि अर्को गर्दै केन्द्रीय तहका नेता पक्राउ पर्न थालेपछि विप्लवले तेस्रो बरियतामा रहेका लडाकुलाई हेडक्वार्टरको प्रत्यक्ष निगरानीमा परिचालन गरेको प्रहरी अधिकारीहरुले सूचना जुटाएका छन्।
मध्य कमान्ड प्रमुख हेमन्तप्रकाश ओली ‘सुर्दशन’ पक्राउ परेपछि बलियो मानिएको मध्यकमान्ड कमजोर बनेको थियो। काठमाडौं यही कमान्ड अन्तर्गत पर्छ।

सरकारले विप्लव समूहका गतिविधिमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो। त्यसयता प्रहरीले एकहजार दुईसय ६५ जनालाई पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय तहका नेताको संख्या २ सय ५९ छ। पक्रावउ पर्नेमा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग), पोलिटब्युरो सदस्य भरतबहादुर बम र जनवर्गीय संगठन ब्युरो इन्चार्ज मोहनबहादुर कार्की (जीवन्त) पनि छन्। यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य बन्धुकुमारी शाह (शिला) पनि पक्राउ परेकी छन्।

भर्खरै

सम्बन्धित खबर

Language »