ताहिर शेष राई
नेपालगन्ज , मुस्लिम समुदायको जश्ने ईद मिलादुन्नबी हर्षोल्लासका साथ आज नेपालगन्जमा सम्पन्न भएको छ । ईस्लाम धर्मावलम्बीहरूको अन्तिम प्रवक्ता अर्थात पैगम्बर हजरत मोहम्मद (स.अ.) को १४९६ औं मोहम्मद जयन्तीको हर्षोल्लासका साथ नेपालगन्जमा जश्ने ईद मिलादुन्नबी सम्पन्न भएको हो ।

मंगलबार बिहान करीब ८:३० बजे नेपालगन्जको जामा मस्जिदबाट निस्केको जुलुसे मोहम्मदी त्रिभुवन चौक, बिपी चौक, धम्बोझी, न्यू रोड लगायत नगर परिक्रमा गरि गौसिया मस्जिदमा पुगि समापन गरिएको थियो ।





इस्लामिक पात्रो अनुसार तेस्रो महिना रविउल्ल अवलको १२ तारिखका दिन नेपाली मुस्लिम सहित विश्वभरीका मुस्लिम धर्मावलम्बीहरूले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको परम्परा रहेको धार्मिक अगुवाहरू बताउँछन् ।





इस्लाम धर्मका अन्तिम प्रवक्ता अर्थात पैगम्बर “हजरत मोहम्मद” साहवको जन्म साउदी अरेबियाको पबित्र शहर मक्का शरीफमा बिबी आमिनाको कोखबाट भएको थियो ।


स्मरण रहोस गतबर्ष कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले भाइरसलाई फैलिन नदिनका लागि लगाएको पूर्ण नियमको पालना गर्दै मुस्लिम समुदायले जश्ने ईद मिलादुन्नबी आ-आफ्नो घरमा मनाएका थिए ।








