काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले घेदुङको नवौं महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् । २०७८ फागुन २७ गते शुक्रवार काठमाडौंको चुच्चेपाटीस्थित घेदुङको सभाहलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष गोलेले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका हुन् । ”अहिले सबै हिसाबले हामीले तयारी पुरा गरिसकेको अवस्था छ । कुनै प्राकृतिक विध्वंश नभए अब महाधिवेशन भयो । एक भयो, दुई भयो, तीन भयो,” अध्यक्ष गोलेले भने ।
घेदुङको अधिवेशन धुम्बराहीस्थित एसआर ब्याङ्क्वेटमा तीन दिनसम्म चल्नेछ । आइतवार दिउँसो १२ बजे उद्घाटन हुने कार्यक्रमको प्रमुख अतिथि घेदुङका पूर्वअध्यक्ष एवं सल्लाहकार परशुराम तामाङ रहनेछन् । उद्घाटन कार्यक्रममा तामाङ सांस्कृतिसम्बन्धी गीतसंगीत तथा झाँकी प्रस्तुत हुने अध्यक्ष गोलेले बताए । ”महाधिवेशन उद्घाटन आइतवार दिउँसो १२ बजे हुनेछ । उद्घाटनमा पूर्व अध्यक्ष परशुराम तामाङ प्रमुख अतिथि हुनुहुन्छ । यसपटकको उद्घाटनमा ताम्बा, बोम्पो, लामादेखि, नेपाल संस्कृति घेदुङको विशेष प्रस्तुति, तामाङ कलाकार संघ, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, म्हेन्दोमाया नृत्य रहनेछन्,” घेदुङका अध्यक्ष गोलेले भने ।
उद्घाटन सत्रमै तामाङ भाषाको शिक्षा लागू भएका गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गोलेले जानकारी बताए । लगत्तै बन्द सत्रबाट सांगठानिक, आर्थिक, विधान संशोधनलाई सामान्य छलफल गरेर औपचारिकरुपमा पारित गराउने विधि अपनाउने घेदुङको तयारी रहेको छ ।
महाधिवेशन फागुन २९ गते उद्घाटन भएर चैत १ गते सकिनेछ । महाधिवेशनका लागि अहिले जिल्लाबाट प्रतिनिधिहरु आउन थालेको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिए ।
यसवर्ष ८०० को संख्यामा प्रतिनिधि हुने घेदुङले जनायो । तीनै तहबाट प्रतिनिधि आएको हुनाले प्रतिनिधि र पर्यवेक्षक हुन लागेको अध्यक्ष गोलेले बताए ।
यसपटक घेदुङले तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संघर्षको योजनासहित जुझारु नेतृत्व चयनका लागि नवौं महाधिवेशन तय गरेको छ ।
चितवन घोषणापत्र जारी गर्दै २०७२ चैत १ गते निर्वाचित घेदुङको कार्यसमिति कोरोना महामारीका कारण पटकपटक महाधिवेशनको समय सर्दै आएकोमा यसपटक भने तोकिएकै समयमा महाधिवेशन हुने अध्यक्षले गोलेले बताए । घेदुङको निर्वाचित कार्यसमितिकोमो अवधि ४ वर्षको हुने नियम रहेको छ ।
घेदुङमा पदाधिकारी कति हुन्छन् रु यसबारे प्रश्न गर्दा अध्यक्ष गोलेले पदाधिकारी २१ जनाको बनाउने बताए । ”यसपटक पदाधिकारी बढेका छन् । सबैलाई पद पुग्छ होला । पदाधिकारी नै २१ जनाको पुग्छ होला । पास भयो भने,” पत्रकार सम्मेलनमा गोलेले भने ।
घेदुङ सञ्चार विभागका संयोजक जगत दोङले सञ्चालन गरेको कार्यक्रममा तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन, उपाध्यक्ष अन्जु तामाङ, सदस्य मिलन लामा, धर्म टिभीको सुष्मा तामाङलगायतले घेदुङको विवाद तथा समस्याबारे प्रश्न गरेका थिए ।
के नयाँ नेतृत्वले तामसालिङको मुद्धा उठाउन सफल होला ?
नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट सेलाएको तामसालिङको मुद्धा उठान होला त ? भन्ने प्रश्न तामाङ समुदायमा चौतर्फी उठि रहेको छ ।
गणतन्त्र प्राप्त भएपछि नेवा–तामसलिङको मुद्धा सेलाएको हो । २०७६ साल पुस २७ गते आइतवार प्रदेश सभाले नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी मकवानपुरको हेटौडा तोक्ने निर्णय गरेको र धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नाम बागमती नामारण गरेको थियो ।
नेपाल तामाङ घेदुङले शुरु देखि नै उठाउदै आएको मुद्धा बागमती प्रदेशमा तामाङ समुदायको बाहुल्यता रहेको हुँदा नाम नेवा–तामसलिङ हुनुपर्छ भनेर सडक आन्दोलन गर्दै आएको थियो । जब पुस २७ गते प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेशको नामकरण बगमती प्रदेश भनेर घोषणा गरियो त्यसपछि नेपाल तामाङ घेदुङले नै यो मुद्धाको उठाउन छोडेको छ ।
नवौं महाधिवेशनले तामसालिङको मुद्घा उठाउन सकिन्छ या सकिदैन यो हेर्न बाँकी नै छन् । नेपाल तामाङ घेदुङको महाधिवेशन यो भन्दा एक वर्ष अगाडी नै हुनुपर्ने थियो तर महामारीको कारणले हुन सकेको थिएन ।
पत्रकार सम्मेलनमा अध्यक्ष मोहन गोलेले कोभिड १९ को कारणले तामसालिङ मुद्घा सेलाएको स्वाकर गरेको छ तर उहाँले आउने नयाँ कार्यसमितीले यो मुद्धालाई उठान गर्ने दाबी गर्नु भएको छ । पत्रकार सम्मेलनमा धेरै प्रश्नहरु उठेतापनि महाधिवेशनको नजिक त्यस विषयमा धेरै नबोल्दा नै राम्रो हुने अध्यक्ष गोलेले बताउनु भयो ।








