सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ललितपुर छापा प्रकरण : बसुन्धराबाट थप १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । ललितपुरमा छापा हानेर ५० लाख नगद, सुन र सुन गाल्ने मेसिन बरामद गरेको प्रहरीले काठमाडौंको बसुन्धराबाट पनि १ किलो सुन बरामद गरेको छ ।

शुक्रबार ललितपुरको ताल्छिखेलमा छापा हानेर प्रहरीले ५० लाख र सुनसहित पाँच जनालाई पक्राउ गरको थियो । त्यसैको अनुसन्धानको क्रममा बसुन्धाराबाट थप १ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

बसुन्धराबाट १ किलो सुनसहित भारतीय नागरिक २२ वर्षीय विजय संवत सिडारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । ‘एक किलो सुनसहित एक जना भारतीय पक्राउ परेका छन् । अहिले मुचुल्काको काम भइरहेको छ, अन्य पाटाहरू पनि हेरिरहेका छौं,’ एसपी सुवेदीले भने ।

ललितपुरबाट पक्राउ परेकाहरूलाई अनुसन्धान गर्ने क्रममा यो समूहले बसुन्धरामा पनि फ्ल्याट भाडामा लिएर सुनको अवैध कारोबार गरेको खुलेको थियो ।

शुक्रबार ललितपुरबाट भारतको महाराष्ट्र आडवारी थाना घर भई ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनारलाई पक्राउ परेका थिए । बसुन्धाराबाट अर्का युवक पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

यसअघि ललितपुरबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले गरेको थियो ।

ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय नागरिक युवराजको फ्ल्याटमा खानतलासी गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »