काठमाडौं/ मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई मंगलबार काठमाडौंका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने १८ बर्षीय रवि कुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका ६ घर भइ हाल काठमाडौंको नयाँबस्ती बस्ने १९ वर्षीय मनिष थापा मगर र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका १ घर भइ हाल काठमाडौंको नयाँपाटी बस्ने २० वर्षीय विशाल तामाङलाई हिजो साँझको समयमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०१७ प ७५०५ राखी चलाइरहेको अवस्थामा हिजो साँझ ५ बजे चौधरीलाई काठमाडौंको चावहिल गंगाहिटीमा फेला पारी सोधपुछ गर्दा उक्त मोटरसाइकल तामाङले दिएको भनी जानकारी गराउनसाथ तामाङलाई पनि काठमाडौंको जोरपाटी नयाँबस्तीबाट नियन्त्रणमा लिएको हो ।
अनुससन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको छ । उक्त मोटरसाइकल काठमाडौंको नरेफाँटबाट हराएको भनी नरेफाँट बस्ने सोनु कारकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिनुभयो ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत प्रवक्ता प्रहरी उपरीक्षक राउतले सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।









