सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोरखाबाट सांसदका लागि एमालेको सिफारिसमा परे चक्रे मिलन

काठमाडौं ।  गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्। उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका हुन्।

गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा (एमाले) मा सक्रिय रहँदै आएका छन् र पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा साथैर राजनीतिमा क्रियाशील छन्। समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कारण गोरखाली जनताले आफूलाई जिताएर संसदमा पठाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।

देशभर ‘मिलन गुरुङ (चक्रे मिलन)’ नामले परिचित उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। यसैक्रममा कहिलेकाहीँ आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको भए पनि आफू एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको उनले स्पष्ट पारे। “म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो,” उनले गुनासो गरे।

यसैबीच, मिलन गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य तथा गोरखाका युवा नेता प्रविण अधिकारीले भने, “जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ।” उनले थपे, “आज गोरखाका आम युवा मात्र होइन, जेनजी पुस्ताको समेत साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ। युवाको वास्तविक आवाज संसदसम्म पुर्‍याउन उनी सक्षम नेतृत्व हुन्।”

भर्खरै

सम्बन्धित खबर

Language »