काठमाडौं । जब राष्ट्रप्रेम शब्दमा मात्र सीमित रहँदैन र सुर–तालमा ढल्किन्छ, त्यतिबेला एउटा गीत आन्दोलन जस्तै बन्छ। यस्तै सन्देश बोकेको स्वदेशगान “म झुक्न दिन्न मेरो देशको झण्डा” प्रजातन्त्र दिवसको अवसर पारेर औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको यस गीतले २००७ सालको ऐतिहासिक परिवर्तनको स्मृतिलाई पुनः जीवन्त बनाउँदै राष्ट्रिय अस्मिता र स्वाभिमानको स्वर बुलन्द गरेको छ। फागुन ७ को सन्दर्भसँग जोडेर सार्वजनिक गरिएको यो कृति केवल सांगीतिक प्रस्तुति नभई देशप्रतिको अटुट अठोटको अभिव्यक्ति बनेको छ।
गीतकार डि.बि. पराजुलीका शब्दले “झण्डा”लाई कपडाको टुक्रा होइन, राष्ट्रिय पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा चित्रित गरेका छन्। शब्दमा रहेको दृढता र भावनात्मक गहिराइले श्रोतालाई स्वतः देशभक्तिको भावनामा डुबाउँछ।
स्वरमा रुपक डोटेल र मेनुका राईले शक्तिशाली उपस्थिति जनाएका छन्। संगीत संयोजन बिजेन्द्र नौबागेको रहेको छ भने एरेन्जर सुनिल परियारले गीतलाई आधुनिक तथा जोशिलो आयाम दिएका छन्। मिक्सिङ डिका गुरुङ, रेकर्डिस्ट मदन नेपाली (सुफिक्स) र कलरिस्ट जोन राईको मेहनतले समग्र प्रस्तुति प्राविधिक रूपमा पनि सशक्त बनेको छ।
भिडियो पक्ष झन् आकर्षक छ। मुख्य भूमिकामा स्वयं बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ र पबित्रा अर्याल (पबि) देखिएका छन्। विभिन्न सामाजिक अभियन्ता र बाल कलाकारहरूको उपस्थितिले भिडियोमा सामूहिक राष्ट्रप्रेमको दृश्यात्मक अनुभूति गराएको छ।
निर्देशक दिपेश एस के ले भिडियोमा देशभक्तिको भावनालाई केवल भाषणमा सीमित नराखी दृश्य–संयोजन, झण्डाको प्रतीकात्मक प्रयोग र समूहगत प्रस्तुतिमार्फत सशक्त रूपमा उतारेका छन्। सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् भने छायांकन केशव अधिकारी र कृष्ण बहादुर महराले सम्हालेका छन्। मेकअप आर्टिस्ट प्रमिला सुनामको साजसज्जाले कलाकारहरूको प्रस्तुतिलाई थप प्रभावशाली बनाएको छ।
गीतको रेकर्डिङ एरिका रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो। लोकार्पण कार्यक्रम सिन्की भान्छाघरमा आयोजना गरिएको थियो, जहाँ कलाकार, पत्रकार, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
युट्युबमार्फत सार्वजनिक गरिएको “म झुक्न दिन्न मेरो देशको झण्डा” ले नयाँ पुस्तामा राष्ट्रप्रेम, एकता र समर्पणको भावना जगाउने विश्वास गरिएको छ।
देशभक्तिको जोश, शब्दको दृढता र दृश्यको प्रभावशाली संयोजनले यो गीतलाई केवल स्वदेशगान नभई “नझुक्ने संकल्प”को सांगीतिक घोषणापत्रका रूपमा उभ्याएको छ।








